‘सहायताका नाममा एन्टिबायोटिक खाइरहेका छौं’

Dr Devendra Raj Panday
Dr Panday visits Redink Books Office for discussion about his new book  ‘The Idea of Integrity  and the Universe of Corruption & Anti-Corruption’

विदेशी सहायता भित्रिन थाल्दा अर्थ मन्त्रालयको वैदेशिक महाशाखामा लामो समय काम गरेका, त्यसपछि अर्थसचिव हुँदै अर्थमन्त्री भएका डा. देवेन्द्रराज पाण्डे सुरूदेखि यस विषयमा आलोचनात्मक दृष्टिकोण राख्ने सीमित व्यक्तिमा पर्छन् । अर्थसचिवबाट २०३६  मा राजीनामा दिएपछि सहायताले मुलुकलाई परनिर्भर तुल्याउँदै लगेको, उत्पादनशील क्षेत्रमा खर्च हुन नसकेको दृष्टान्त प्रस्तुत गरी सुधारका निम्ति नागरिकलाई जागरूक बनाउने व्यक्तिमध्येका एक हुन्- डा. पाण्डे । उनले पञ्चायतको उत्तरार्द्धमा ‘अर्थ  राजनीतिक विसंगति: राष्ट्र निर्माणको तगारो’ र ‘नेपाली अर्थ राजनीति चुनौती र विकल्प’ जस्ता पुस्तकमा विदेशी सहायतामै नीति-निर्माता अल्झेको विषय उठान गरेका थिए । उनको पुस्तकलाई पञ्चायती शासकहरुले बजार आउन नदिने प्रपञ्चसमेत रचेका  थिए । बहुदलीय व्यवस्थापछि अर्थतन्त्र र सहायता सवालमा लेखिएको ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’ पुस्तक चर्चित बन्यो । बहुदलीय व्यवस्थासँगै सहायता पारदर्शी हुने र मुलुकको हितमा प्रयोग हुनेछ भन्ने अपेक्षाविपरीत झन् विकृति र विसंगति बढ्दै गएको छ ।  पछिल्लो समय दाताहरुको सहयोग परिचालन प्रक्रिया र त्यसले समाजमा बढाएको विकृति छताछुल्ल भएका छन् । विदेशी सहायता परिचालन र त्यसमा संगति-विसंगतिका सवालमा कान्तिपुरका हरिबहादुर थापा, गोकर्ण अवस्थी र रोशन अधिकारीले डा. पाण्डेसँग गरेको कुराकानीः

विदेशी सहायताबारे उपयोग र दुरुपयोगको बहस फेरि सुरु भएको छ र यसलाई व्यवस्थित गर्ने भनेर अर्थमन्त्रालयले तयार पारेको नीति कार्यान्वयन हनु नसकेको अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

विदेशी सहायता उपयोगका सवालमा दुरुपयोगको सन्दर्भ आउनु दुःखलाग्दो विषय हो । नेपालमा विदेशी सहायता लगानी आउन सुरु भएको सन् १९५१ देखि हो । अझसम्म विदेशी सहयता व्यवस्थित बनाउन प्रभावकारी कुनै काम भएको छैन । यति लामो  समयमा देखिएका कमी/कमजोरी सुधार गर्दै लैजानुको सट्टा झन्झन् विकृति बढ्दै गएको देखिन्छ । यसमा अनेक प्रकारका संस्था मुछिन थालेपछि राष्ट्रकै लागि दुःखको विषय हो । तर यसका साथसाथै बहस सुरु भएको छ, त्यो सकारात्मक पक्ष हो । राजनीतिक  वृत्तदेखि कर्मचारीतन्त्रसम्म गहिरिन खोजेको देखिन्छ । यसले हालसम्म भएका कमीकमजोरी र अबको बाटो सुधार्न मौका पनि आएको छ ।

दातृ निकाय बजेटको परिधिभन्दा बाहिर खर्च गर्ने प्रवृत्ति बढावा दिँदै गएको देखिन्छ, राज्यको प्राथमिकता विदेशी दातृ निकायले तोकेजस्तो देखिन्छ । सहायता कति-कसरी आयो र कहाँ खर्च भयो भन्ने पनि नदेखिने अवस्था पैदा हुँदा आर्थिक अराजकता सिर्जना  हुँदैन र ?

यो एकदम महत्त्वपूर्ण कुरा हो । यस्तो दृश्य देखिनु र सुनिनु भनेको दातृ समुदायकै निम्ति चुनौतीको विषय हो । विगत १०/१२ वर्षयता विदेशी साहयताको प्रभावकारिता बढाउन के गर्नुपर्छ भन्ने चिन्तन बढेको छ । विश्वभरि नै बैठक भइरहेका छन्- पेरिस,  आक्रा हुँदै बुसान घोषणापत्रसम्म जारी भएका छन् । सहायताको प्रभावकारिताबारे कस्ता साझेदारी गर्नुपर्छ, सहयोग लिने राष्ट्रको दायित्व के हो ? लगायतका कुरामा राम्रा छलफल भएका छन् । तर त्यो छलफलबाट आएको निष्कर्ष व्यवहारमा लागू हुन सकेको छैन । जेजति विकृति देखियो, त्यसको भागी  दातृ निकाय पनि हो । हामीजस्ता मुलुकले विकासमा सीप, शिक्षा, अनुभव नपुगेर दातालाई बोलाएका हुन् । त्यही भएर प्राविधिक सहायता र वित्तीय सहायता खोजिरहेका छौं । हाम्रा कमजोरीको फाइदा उठाउन होइन । त्यस्ता कमजोरी नाश गर्न दाता आउनुपर्ने हो तर पछिल्लो समयमा थप विकृति थपेजस्तो देखिन्छ । बजेटबाहिर रहेर सहयोग गर्ने र खर्च गर्ने  विषय कसरी सुरु भयो भन्ने कुरा बुझ्न जरुरी छ । प्रत्यक्ष रूपमा नभने पनि दातृ समुदायले विकास सरकारले मात्रै गरेर हुँदैन भनेजस्तो देखिन्छ । पहिला दातृ निकायले नेपाललाई हेर्दा प्रतिनिधित्व गर्ने सरकार मात्र थियो । अब सरकारले मात्र सहायता खर्च  गरेर हुँदैन, सरकारबाहिरका निकायबाट पनि हामीले खर्च गर्न पाउनुपर्छ भनेको हो । यसले मूलभूत प्रतिनिधिमूलक राज्यव्यवस्थालाई चुनौती सिर्जना भएको छ । यसमा बहस हुनुपर्छ । यो नेपालको मात्र कुरा होइन, बाहिर पनि यस्तै दृश्य देखिएका छन् । नागरिक  समाज र गैरसरकारी संस्थाको प्रादुर्भावयता नै बजेटको परिधिबाहिर रहेर खर्च गर्ने क्रम सुरु भएको हो । यसमा केही सरकारको स्वीकृति लिएर खर्च भएको हुन्छ, केही थाहा नदिई खर्च गर्ने पनि हुन्छन् । राज्यलाई पनि चुनौती हो ।

यो अन्योल र असहज अवस्था अन्त्य गर्न कसले सोच्नुपर्छ- दाताले कि नेपालले ?

राज्य बलियो बनाउन विदेशी सहयोग आएको हो । सहयोगबाट राज्य बलियो भयो कि कमजोर भन्ने विश्लेषण गर्नुपर्छ । नागरिक समाज, गैरसरकारी सबैको भूमिका समाजमा छ । तिनीहरू चाहिँदैन भनेको होइन । तर तिनको प्रयोजन र प्रयोग के हो र कहाँ हो  ? राष्ट्रनिर्माण र विकासका काममा उनीहरू कुन हैसियतले कहाँ उपयोग हुन सक्छन् भन्ने महत्त्वपूर्ण सवाल हो । नागरिक समाज केलाई भन्ने कुरामा जति बहस गरे पनि सिद्धिँदैन होला । नागरिक समाज भनेको परिवर्तनका लागि पैरवी गर्न हो । पैरवीको काम  स्वायत्त चिन्तनमा आधारित स्वायत्त संस्था र स्वायत्त स्रोतबाट हुनुपर्छ, विदेशीको लगानीबाट होइन । प्रजातान्त्रिक राज्यमा नागरिक समाजले आममानिस र राज्यलाई जोड्ने काम गर्ने हो । जनप्रतिनिधिले सर्वसाधारणको काम गरिरहेका छन्/छैनन्, के गर्नुपर्छ  भन्ने काम हेर्ने हो । यतिखेरको दृश्य हेर्दा ‘मिसन’ के हो भन्ने नै बुझिँदैन । नागरिक समाजको काम राज्यसंयन्त्रमा रहेका कमीकमजोरी देखाउने र त्यसलाई सुधार गर्न सहयोग गर्ने हो । यस्तो काममा विदेशी सहायता आउनेबित्तिकै दुष्प्रभाव पर्छ । विदेशी  सहायतासँगै समाज नै परनिर्भर भएको छ । म उग्र भएको समय पनि मैले वैदेशिक सहयोग चाहिँदैन भनेको छैन । तर हामीले सहयोगका नाममा ‘एन्टिबायोटिक’ मात्र खाइरहेका छौं । अनेक शीर्षक र समयमा विदेशी सहयोग ‘एन्टिबायोटिक’का रूपमा आइरहेको छ । मुलुक भने झन्झन् बिरामी हुँदै छ, यसमा सरकार मात्र होइन, आम तह चिन्तित हुनुपर्छ ।

सहायता परिचालनका सन्दर्भमा कर्मचारीतन्त्रबाट प्रशस्त कमजोरी भएका देखिन्छन् र उनीहरूले सही निर्णय लिने आँट देखाएको पाइँदैन, यस्तो परिस्थितिमा के गर्न सकिन्छ ?

कर्मचारीतन्त्रको संलग्नताको विषय नौलो र अचम्म होइन । धेरै वर्षदेखि यस्तै चल्दै आएको छ । तर सरकार, कर्मचारीतन्त्र मात्र नभएर हाम्रो समाज नै विदेशी सहयतामाथि परनिर्भर हुँदै गएको छ । म जागिरमा हुँदादेखिकै चासो, हाम्रो सरकार विदेशी सहयो गमा बढी निर्भर भयो कि भन्ने बहस चल्न सुरु भएको हो । यतिखेर सहायतामा बढी निर्भर रहँदा हामी धान्न सक्दैनौं कि ? सहयोग बन्द वा कम भए हामीले के गर्ने हो ? सहयोगको सदुपयोग भयो या भएन ? लगानी, प्रतिफल र आर्थिक वृद्धिदर हासिल भयो या भएन ? वातावरण  सुधार भयो/भएन ? यस्ता  अनगिन्ती प्रश्न उठ्ने र बहस गर्ने क्रम यथावत् छ । त्यतिबेला राज्य मात्रै सहायतामा निर्भर थियो, समाजमा सहायताको प्रवेश भएको थिएन ।

तर यतिखेर राज्य मात्र नभएर समाज नै निर्भर हुँदा यसले गम्भीर असर पार्छ । गाउँगाउँमा टिनको पाता राखेर भए पनि गोष्ठी हल बनिरहेका छन् । विदेशी सहायताकै सेमिनार हुन्छ भनी धेरै होटल खुलेका छन् । यदि सहायता नआउने हो भने व्यवसाय बन्द  हुने अवस्था आइसकेको छ । त्यहीकारण एकतर्फी आलोचना गर्न मात्रै हुँदैन । यस्तो काम बन्द भए काठमाडौंका केही व्यक्तिको सम्पत्ति नथपिएला तर कतिको त रोजगारी नै जान्छ । मानवअधिकार, महिला अधिकार, दलित अधिकार, मधेस अधिकारसम्मका विषय  मुखर भएका छन् । केही न केही राम्रो काम पनि गरेका छन् र सन्देश प्रवाह पनि गरेका छन् । त्यसैले अहिले विकृति हटाउने र उपयोगी पक्षलाई राख्ने, प्रवर्द्धन गर्ने बेला आएको हो जसमा दातृ निकाय र हाम्रो भूमिका के भन्ने निक्र्योल गर्ने समय आएको हो ।

त्यसो भए सहायता प्रभावकारी तवरमा परिचालन गर्ने र बजेटको परिधिभित्र ल्याउने सवालमा कर्मचारीतन्त्रबाट सम्भव छैन भन्न खोज्नुभएको हो ?

कर्मचारीतन्त्रको आफ्नै स्वार्थ, व्यवहार र मर्यादामा भर पर्छ । कतिपय कुरा कर्मचारीको तहभन्दा बाहिरको हुन्छ । राजनीतिक वृत्तबाट चाहिने/नचाहिने दबाब आउँछ । त्यस्तो बेला केही गर्न सकिँदैन, त्यो बुझ्नुपर्छ । तर कतिपय सवालमा स्वार्थका कारण पनि काम नसकेको जस्तो देखिन्छ । सरकारी नीतिलाई  सघाउने र आचरणका कुरामा चिप्लिएका छन् कि जस्तो शंका लाग्छ । समाजमा बेग्लैखाले मूल्यमान्यताले पकड जमाएको छ । के ठीक के बेठीक भन्ने छैन । के गर्दा स्याबासी पाइन्छ ? के गर्दा गाली खाइन्छ ? भन्नेसम्म थाहा छैन । यो माहोलमा सरकारी कर्मचारी मात्र अछुत रहने कुरा आएन । कर्मचारीले आफ्नो स्वार्थ, लाभ-हानि नहेरे धेरै-थोरै नियन्त्रण गर्न सकिन्छ । मलाई आशा छ, मुख्यसचिव लीलामणि  पौडेलले दिएका बुँदागत निर्देशन र उनको भनाइ व्यावहारिक रूपमै कार्यान्वयनमा ल्याउन सक्नुभयो भने सुधार हुन सक्छ ।

मुख्यसचिवको निर्देशनविपरीत कर्मचारीतन्त्रबाटै गुनासा आएको र कार्यान्वयन हुन नदिन दाताहरू नै गुहार्न पुगेको भनाइ पनि आइरहेका छन्, यस्तो अवस्थामा कसरी सुधार हुन्छ ?

हो, कति कर्मचारी दाताहरूकै परामर्शदाताका रूपमा गर्छन् । हामी कर्मचारी हुँदा त परामर्शदाता बन्ने विषय त सपनामा पनि सोच्न सक्दैनथ्यौं । सरकार, अर्थ मन्त्रालय र योजना आयोगले ठीक ठाउँमा बसेर काम गर्ने हो भने यस्ता समस्या आउँदैनन् ।

तर कर्मचारीहरूकै दाताहरूसँग संलग्नता भएपछि सुधार हुन सक्छ र ?

पहिला योजना आयोगका सदस्यहरूले विदेशीसँग काम गरेका छन् या छैनन् ? त्यसबापत पारिश्रमिक लिएका छन्/छैनन्, खोजिनुपर्ने विषय हो । दातृ निकायको प्रतिवेदनमै सरकारी कर्मचारी परामर्शदाता बनेको र हस्ताक्षर गरेका हुन्छन् । अर्कातिर दातृ निकाय  हामीलाई पैसा दिएर वा जानेका कुरा सिकाउन सल्लाहकारका रूपमा सहयोग गर्न आएका हुन् । हामीकहाँ हाम्रै कर्मचारी उनीहरूका सल्लाहकार भएका छन् । त्यसमा भौतिक सुविधा पनि गाँसिएका होलान् । तर यसले कर्मचारीको ‘बफादारी’ कता प्रदर्शन हुन्छ  भन्ने कुरा महत्त्वपूर्ण हो । कर्मचारीले जनताका लागि काम गरेका हुन् । योजना आयोगजस्तो ठाउँमा बसेर दाताका परामर्शदाता भएको र काम गरेको सुन्दा पीडाबोध हुन्छ ।

विदेशी सहयोगलाई राज्यको विधिवत् बजेट प्रणालीमा ल्याउने बाटा केके हुन् र तिनलाई आचारसंहिता बनाएर व्यवस्थित गर्न सकिँदैन ?

सुधारका लागि कहाँबाट सुरु गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । नेता, समाज, परिवेश सबै उस्तै छ । आचारसंहिता आवश्यक छ । पञ्चायतकालमा विदेशीसँग भेट्नुअघि या भेटेपछि जानकारी लिनुपर्ने परिपाटी थियो । कुनै भोजमा गएर आउँदा पनि जानकारी गराउनुपथ्र्याे । त्यस्तै दृश्य दोहोर्‍याउनुपर्छ भनेको होइन, किनभने स्वतन्त्राका कुरा पनि आउलान् । तर सहायता लिने र खर्च गर्ने  सवालमा पारदर्शिता हुनुपर्छ । अर्कातिर आचारसंहिता आफैंमा केही होइन, मूल्यमान्यता र नैतिक आधार मजबुत गर्नुपर्छ जसका लागि ‘धर्मगुरु’ जस्तो मान्छे आउनुपर्छ- सबैको सोचाइ परिवर्तन गर्न सक्ने । मैले कसैको भाषणमा सुनेको थिए- समाजमा ५ प्रतिशत  खराब र त्यति नै असल मान्छे हुन्छन् । बाँकी ९० प्रतिशत हावा जता बग्यो, त्यतै बग्छन् । अब ९० प्रतिशतलाई राम्रो हावातिर लगाउनुपर्छ, जसका लागि राम्रो सोच चाहिन्छ ।

हामीकहाँ दाताको शैली र गतिविधिलाई कसरी हेर्नुभएको छ ?

हामीले दातृ निकायको पनि स्वतन्त्र मूल्यांकन गर्नुपर्छ । त्यो गर्ने हैसियत छ/छैन भन्ने कुरा महत्त्वपूर्ण हो । हैसियत भन्नाले हाम्रो प्रतिस्पर्धात्मक क्षमता र उद्देश्य हेर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय स्तरमा पनि हेर्न जरुरी छ । गैरसरकारी संस्था, नागरिक समाज यहाँ मात्र  होइनन्, सबैतिर छन् । दाताहरू अमूक मुलुक र अमूक विचारधारा प्रवर्द्धनका लागि आएका छन् । त्यसको सामना गर्ने र आफ्नो परिधिमा राख्नुपर्ने हाम्रो दायित्व हो । हामी स्वाधीन मुलुक हौं भने सबैलाई प्रतिनिधित्व गर्ने क्षमता राज्यमा हुनुपर्छ । राज्य बलियो भएका खण्डमा मात्रै सबैको प्रतिनिधित्व गर्ने हैसियताको हुन्छ, त्यसपछि मात्रै राज्य सबै नराम्रा कुरा तह लगाउन सक्षम हुन्छ । सरकारको भूमिका नि ?

सरकारले दातृ निकाससँग ‘कर्मकाण्डी’ बैठक मात्रै गर्नु भएन । दुवैको नेपाल बनाउने उद्देश्य भएपछि त्यही नीतिअनुरूप अघि बढ्न सक्नुपर्छ । हाम्रो आवश्यकता के हो र उनीहरूले के सहयोग कसरी गर्न सक्छन् भन्ने छनोट गर्नु आवश्यक छ । दातृ निकाय पनि खराब होइनन् । दातृ निकायमा तिनका कर्मचारीले  जागिर खानुपर्ने हुन्छ, पैसा बाढ्दा वा खर्च हुँदा तिनलाई आनन्द आउँछ र काम भएको देखिन्छ । विश्वभर यस्तै छ ।

बेथिति नियन्त्रण गर्ने सवालमा सरकार सुस्त भएको टिप्पणी सुनिन्छ, त्यसो हो भने के यस्ता सुधार गर्न सम्भव छैन ?

प्रधानमन्त्रीले किन सक्षमता प्रदर्शन नगर्ने ? उनलाई केही लिनु-दिनु छैन । क्षमता धेरै चाहिँदैन, केवल इच्छाशक्ति चाहिन्छ । उहाँको स्वार्थ केही छैन र केही भन्लान् भन्ने डर छैन । उहाँले चाहे यो विकृति नियन्त्रण गर्न सक्नुहुन्छ । हामी नेपाली जति तल खसेका छौं, वास्तवमा त्यस्ता होइनौं । कालखण्ड, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र विवेक नपुग्दा यो स्थानमा आएका हौं । हामीसँग केही गर्न सक्ने क्षमता, विश्वास र वातावरण सिजर् ना गर्नु आवश्यक छ । मूल्य, मान्यता र आदर्शलाई पच्छ्याउँदै हिंड्ने हो भने गर्न नसकिने केही छैन । नेपालमा सुधारका कुरा जति गरे पनि यस्तै हुन्छ भनी छाड्दै जाने हो भने त समस्या जहाँको त्यहीं रहन्छ । हामीले पनि गर्न सक्दैनौं भन्नु त उम्किने उपाय  हो । हामीमा विश्वलाई उदाहरण देखाइदिनुपर्छ भन्ने सोच जागृत हुनु आवश्यक छ ।

त्यसो भए हामीले गर्न सक्ने काम के छन् ?

संसारमा दाता मात्रै छैनन्, ठूलो परिमाणमा निजी पुँजी पनि छ । त्यहाँबाट पनि ऋण लिएर अधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगाउन सक्छौं । त्यसले दातृ निकायबाट मात्रै लिन पर्दैन । हामीकहाँ भित्रिएको पुँजी उपयोग गरी आर्थिक सम्भावनाको बाटो नखोल्नाले  केवल उपभोगमा मात्र खर्च भइरहेेको छ, त्यसले समस्या आएको हो । आर्थिक सामाजिक विकास गर्ने हो भने दाता मात्र होइन, अरू स्रोत पनि छन् भन्ने आत्मविश्वास चाहिन्छ । त्यसका निम्ति सरकार सक्षम हुनुपयो । विदेशी सहायता आउन लागेको ६० वर्ष  भइसक्यो, हाम्रो कृषिको हालत उही छ, सिंचाइ सुध्रेको छैन । केहीले चिया, तरकारीमा उन्नति गरेका होलान् । तर समग्र अवस्थामा ठूलो फरक आएको छैन । बिजुलीको समस्या उस्तै छ ।

हाम्रो प्राथमिकतामा मात्र सहायता परिचालन हुनुपर्छ भन्न खोज्नुभएको हो ?

दातृ निकायबाट प्राप्त सहयोग सिधै पूवार्धारका क्षेत्रमा मात्रै लगानी हुनुपर्छ । पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा भएको सहयोगले सबै क्षेत्रलाई फाइदा पुग्छ । राज्यको प्राथमिकताका क्षेत्रमा मात्रै सहायता प्रवाहित हुनुपर्छ, विदेशीले जथाभावी हात हाल्नु हुँदैन भन्ने  अडान देखिनुपर्छ । यदि दाताहरू हाम्रो प्राथमिकतामा आउन मान्दैनन् भने निजी कम्पनीमा जान्छौं भन्ने आँट गर्न सक्नुपर्छ जुन काम आज अपि|mकी मुलुकहरूले गरिरहेका छन् । बंगलादेशले पनि यस्तै गरेको हो । हामी किन गर्न सक्दैनौं ? पैसा भनेको पैसा नै हो,  त्यो अनुदान भए पनि या ऋण भए पनि । उत्पादनशील काममा लगाए प्रतिफल आए तिर्न सकिन्छ । अनुदान लिएर जाँड खाएको छ भने आर्थिक स्रोतको दुरुपयोग मात्र हो । उत्पादनशील काममा लगाउनुपर्छ ।

तर सरकारले प्राथमिकता क्षेत्र तोक्ने र त्यसमा मात्रै सहायता ल्याउने रणनीति नै तय गर्न नसकेको अवस्थामा त्यस्तो आँट देखाउन सक्छ ?

राज्यले पनि आफ्नो स्रोतको उपयोगबारे हेर्न सक्नुपर्छ । उदाहरणका लागि द्वन्द्वकाल र शान्तिको समयका बीचमा फरक नभएजस्तै अवस्था देखिन्छ । त्यतिबेला सेना या प्रहरी चाहियो होला, तर यतिखेर त्यतिका सेना वा सशस्त्र प्रहरी आवश्यक छ या छैन भन्ने  विषयमा छलफलसमेत भएको छैन । यस्ता खर्च कटौती गर्न सकिन्छ । हामीले गर्न सक्ने हामी आफैंले गर्नुपर्छ । ठूला पूँजी चाहिने र नसक्ने योजनामा दातृ निकायसामु प्रस्ताव गर्नुपर्छ । तिनले त्यसमा नमाने निजी पुँजी ल्याएर काम अघि बढाउने आँट हुनुपर्छ ।  यो बाटो हामीसँग छ । यसरी अघि बढ्दा गैरसरकारी संस्था, नागरिक समाजलाई पनि काम गर्न ठाउँ रहन्छ । स्थानीयस्तरमा राज्यले गर्न नसेकाका काम गैरसरकारीले गरेका पनि छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै काम भएका छन् । विदेशीको पैसा लिनेहरूका  तीन थरी दृश्य देखिन्छन् । कोही पैरवी नामका जीविकोपार्जन गरिरहेका छन् । एक थरी ‘डेलिभरी’ देखिने गरी काम गर्छन्, अर्का थरी चाहिं ‘परामर्शदाता’को काम गर्छन् । हामीले बुझ्नुपर्छ, नागरिक समाज नभनीकन परामर्शदाताको काम पनि गर्न पाइन्छ-  त्यसका निम्ति गैरसरकारी संस्था होइन, कम्पनी खोलेरै चलाउन सकिन्छ । आर्थिक समृद्धि हुन थालेपछि सबैले काम पाउँदै जान्छन्- त्यतिबेला सहायता चाहिँदैन ।

संवेदनशील मानिने रक्षा, सेना, प्रहरी हुँदै न्यायप्रणाली र संविधानसभामा समेत अधिक विदेशी सहयोग आइरहेको देखिन्छ, सहायता लिने ठाउँ र सीमा निर्धारण हुनुपर्छ वा पर्दैन ?

मैले सेना-प्रहरी, न्यायपालिका, संविधानसभाले पनि सहयोग लिन्छन् भन्ने विषय सपनामा पनि सोचेको थिइन । तर केही लाग्दोरहेनछ । म अर्थसचिव हुँदा पहिलोपटक संसद्मा विदेशी छिरेका हुन् । यो २०४६ बाटै यस्तो हुँदै आएको हो । त्यो समय नेपाललाई ‘ प्रोग्राम कन्ट्री’ बनाउने भन्दै सहयोग लिएर आएका थिए, त्यतिबेला सहयोगचाहिं संसद् भवन बनाउनेमा नभएर कुर्सी, माइक उपलब्ध गराउने थियो । यस्तै सहयोगले महिला, जनजाति, आदिवासी र मधेस अधिकार सवाल राम्रोसँग उठ्यो । यो सकारात्मक र राम्रो हो । विदेशीले सबैलाई आफ्नो माग राख्न सिकाए तर त्यस्ता मागलाई पूरा गर्नुपर्ने दायित्व तिनले बिर्से । त्यसैले मागचाहिं राम्रो उठ्यो तर त्यसलाई पूरा गर्न राज्यलाई कमजोर तुल्याइयो । राज्यसँग स्रोतसाधन भएका बखत मात्रै  अधिकार पूरा हुन्छन् । सबै कुरामा सहयोग लिने बानी नराम्रो हो । यसले संविधानसभा भाँड्नेसम्मको अवस्था आयो । पछिल्लो समय यस्तो सहयोग नलिने भन्ने कुरा आएको सुनिन्छ । त्यो राम्रो हो । अर्थशास्त्रमा ‘क्राउडिड आउट’ भन्ने एउटा परिभाषा छ । हाम्रो  आफ्नो क्षमता देखाउने ठाउँमा हामी पनि ‘क्राउड आउट’ भयौ । सबै विदेशीले गर्दिहाल्छन् भन्ने विश्वास पलाउन थाल्यो । दीर्घकालीन रूपमा यस्तो सहयोग प्रत्युत्पादक हुँदै छ । अब के-कस्ता विषयमा विदेशी सहायता लिने र नलिने विषय नीतिगत तहमै छुट्याउनुपर्छ । सरकार र गैरसरकारी संस्थाको दायरा के हो भन्ने स्पष्ट परिभाषा हुनुपर्छ ।

वैशाख १४, २०७१, कान्तिपुर दैनिकमा प्रकाशित अन्तरवार्ता 

विकास कसका लागि ?

बी.पी कोइराला

तपाईहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिनँ । मेरो अन्त्यमा बोल्ने पालो परेकोले सुविधा पनि भएको छ, किनभने मैले भन्नुपर्ने कुराहरू पूर्ववक्ताहरूले भनिसक्नु भएको छ । म तिनै कुराहरूलाई फेरि दोहो¥याउँदिनँ र पञ्चायत मरिसकेको घोडा हो, त्यसलाई चाबुक मार्न पनि म चाहन्नँ ।

जब म २०१७ सालतिर प्रधानमन्त्री थिएँ, त्यसबेला राजा महेन्द्रसँग बराबर वातचित हुन्थ्यो र म भन्थे, म एउटा निम्नमध्यम वर्गीय आर्थिकस्तरको मानिस हुँ, मेरो धारणा छ, १५ वर्षभित्रमा नेपालको प्रत्येक परिवारलाई मेरा जत्तिको आर्थिक अवस्थामा ल्याउन सकिएला । तर आज (२०३७ सालमा) बीस वर्षपछि आइपुग्दा देशको आर्थिक अवस्था झन् नाजुक भएर गएको छ । योजना आयोगका तथ्याङ्क र अर्थशास्त्रीहरू बोलिरहेका छन् कि पाँचौँ पञ्चवर्षीय योजना कालमा ५ प्रतिशत राष्ट्रिय उत्पादन बढाउने लक्ष्य राखिएकोमा केवल २ प्रतिशत मात्र उत्पादन बढ्यो र त्यसै अवधिमा जनसंख्या वृद्धिको दर भने २.३ प्रतिशत रह्यो । यसरी जनसंख्या वृद्धि दरसित तुलना गर्दा विकासको दर ०.३ प्रतिशतले घटेको देखिन्छ । तर विकासको दर केवल २.५ प्रतिशतले मात्र बढेको भए पनि अर्थशास्त्री र तथ्याङ्कशास्त्रीहरूले भन्ने थिए कि कमसेकम ०.२ प्रतिशत भने पनि विकासको दर बढेको छ ।

तर विकास भनेको के हो ? के यस्तो तथ्याङ्कले देखाउने विकास विकास हो ? अथवा विकास कसको लागि हो ? विकास गाउँमा भएको छ कि आँकडामा ? एउटा–दुईवटा उदाहरण दिएर मेरो कुरा प्रष्ट गरुँ । अस्ति म एउटा समारोहबाट फर्किदै थिएँ । त्यो समारोह भित्रको वातावरण र बाहिरको अड्याइएका ठूला–ठूला महंगा गाडीहरू देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मानिसहरू धेरै धनी भएछन् ।

त्यसै दिन म पहाडतिरबाट यहाँ (काठमाडौँ) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरूको कोठामा गएँ । उनीहरू चार–पाँच जना एउटै कोठामा बसेका थिए । जसमा सुकुल विछ्याइएको थियो र त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो । उनीहरू त्यस्तैमा सुत्दा रहेछन् । बगलमा एउटा फोहोर होटेल थियो । जहाँ उनीहरू खान्थे । होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, त्यहाँ सफा र स्वास्थ्यकर भोजन दिइँदैन । त्यस दिनका ती दुई अनुभवले मलाई के लाग्यो भने यहाँ दुइटा नेपाल रहेछ । एउटा महंगा मोटरगाडी चढ्ने नेपाल र अर्को गाउँको गरीब नेपाल ।

यी दुईटा दृश्यबाट म नेपालको विकासको बारेमा सोच्नेहरूलाई भन्न चाहन्छु—नेपालमा केही सडक बने, विजुलीको उत्पादन भयो र हवाइ यातायातको समेत विकास भयो । तर नेपालमा एभ्रो या जेट विमान चढ्ने कति छन् ? विजुलीको सुविधा कतिले उपभोग गर्न सक्छन ? अझ सडककै उपभोग कतिले गर्न पाएका छन् ? काठमाडौँबाट विराटनगर जाने सडकमा प्रतिदिन ३–४ वटा बस यताबाट र ३–४ वटा बस उताबाट आउँछन् । त्यसमा ३–४ सय मानिस आवतजावत गर्लान तर काठमाडौँबाट विराटनगर या उहाँबाट काठमाडौँ ल्याउनेलाने अरू सामान केही छ, जसको ढुवानीबाट त्यो सडकको उपयोग अरू ज्यादा गर्न सकियोस् ।

त्यसकारण विकास भनेको केही ठूला घरहरू, होटलहरू, ठूला सडक, मोटरगाडी, हवाईजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्याङ्क पनि होइनन् भन्ने मलाई लाग्छ । विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसको लागि हो भन्ने प्रश्न समेत सोचेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ ।

 

BP Koirala

के नेपाल भनेको यहाँका चार–पाँचवटा शहर हो ? कि नेपाल भनेको गाउँ हो ? हामीले विकासका कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के ग¥यो  भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ । यदि ठूलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ उसैले उपयोग गर्छ । जेट प्लेन गाउँलेले चढदैन, बिजुलीको प्रचूर प्रयोग गर्दैन । त्यसकारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ—तपाईहरू भित्तामा राजाको तस्वीरसँगै नेपालको गरीब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्—यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ? म आज पनि त्यही प्रश्न सोध्दैछु ।

हामीले विकासका कुरा गर्दा अमेरिकाको नमूना देखाएर उदाहरण दिने गरेका छौँ, जो एकदम गलत हो । यो गल्तीबाट कम्युनिष्ट देशहरू समेत मुक्त छैनन् । रुसले पनि आफ्नो औद्योगिक विकासको तथ्याङ्क या रेखाचित्र देखायो भने अमेरिकासित तुलना गरेर मात्र देखाउँछ । रुसको लागि पनि विकासको नमूना अमेरिका नै हो । अमेरिकाले यही शताब्दीको शुरुदेखि विकासको जुन नमूना देखाइदिएको छ त्यही आज संसारको सामु छ र सबै त्यसैको अनुशरण गर्दै छन् ।

अब अमेरिकामा के छ भनेर कुरा ग¥यौँ भने, सवैलाई थाहा छ, अमेरिकामा संसारको ६ प्रतिशत जनता बस्दछन् र अमेरिकाले आफ्नो औद्योगिक विकासको संरक्षणका लागि स्वदेशी तथा विदेशी स्रोतहरू जम्मा गरी संसारको ३० प्रतिशत प्राकृतिक साधनहरू उपभोग गर्छ । अर्थात, ६ प्रतिशतले संसारको पूरा स्रोतको ३० प्रतिशत खाइदिन्छ । यदि भारत र चीनको जनसंख्या दुवै जोड्ने हो र त्यो जनसंख्याले पनि अमेरिकी जनसंख्याकै अनुपातमा संसारको प्रसाधनहरू उपभोग गर्न थाल्ने हो भने संसारको शतप्रतिशत भन्दा पनि बढी प्रसाधनहरू तीनवटा मुलुकले मात्र खाइसक्छन् । अरूले के गर्ने, अरूलाई प्राकृतिक प्रसाधन खोई ?

यो खतरनाक कुरा हो कि हामीहरू हेनरिफोर्डले दिएकै नमूनालाई आफ्नो लक्ष्यका रूपमा अगाडि राखेर विकासका कुरा गर्छौ । ठीक छ, विकासको वृद्धिदर घट्यो भने त्यसमा काफी असन्तुष्ट हुने ठाउँ छ । तर त्योभन्दा पनि असन्तुष्ट हुनुपर्ने कुरा विकासको क्रमले  ग्रामीण जनतालाई पछाडि छोडिदिएकोमा छ । आज हामी देशमा औद्योगीकरणको कुरा गर्छौ । औद्योगीकरण या शहरीकरण भनेको त्यस्तो केन्द्रीभूत प्रकृया हो जसले ग्रामीण जनताको बेवास्ता गरेर शहरको मात्र विकास गर्छ । पढाई–लेखाइका लागि शहरै जानुप¥यो, ओखतिमूलोका लागि शहर, किनमेलका लागि

शहर, मनोरञ्जनका लागि पनि शहर—सारांशमा सम्पूर्ण कुराहरू शहरमा मात्र छन् ।

हामीले अहिलेसम्म यस्तै शहरको मात्र विकास गर्ने नमूनाहरूलाई लिएर योजनाहरू बनाएका छौँ जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरूमा विदेशी मोटरगाडीहरू विदेशी कलपूर्जा र विदेशी तेलले चल्छन्—केवल उपभोक्ता मात्र स्वदेशी छन् । ती पनि मुठ्ठीभर । त्यसकारण हामीले सोध्नु परेको छ—हाम्रो ग्रामीण किसानलाई त्यसले के ग¥यो ? हामीलाई त आज गाउँलेले चलाउन सक्ने प्रविधि चाहिएको छ अर्थात् हाम्रो किसानलाई कस्तो हलो चाहियो ? हलोको वैज्ञानिकीकरण, उन्नत वीजको व्यवस्था गरेर, सिंचाई पु¥याएर उसको कृषि उत्पादन कसरी बढाउन सकिन्छ र उत्पादनलाई कसरी बेच्न सकिन्छ ? नेपाल जस्तो कृषिप्रधान देशमा यो भन्दा बढी सार्थक कुरा के हुन सक्छ ?

अब म तपाईहरूलाई नेपालको वर्तमान आर्थिक अवस्था र राजनीतिक भविष्यबारे दुई–तीन कुरा भन्न चाहन्छु ।

२०१७ सालमा संसदीय व्यवस्था भङ्ग गरेर पंचायती व्यवस्था लागु गरियो । आर्थिक विकासका लागि त्यसो गरिएको हो भन्ने नारा दिइयो । आर्थिक विकास भनेको प्राकृतिक जड स्रोतहरूको परिचालन गर्ने प्रकृया हो, जसद्वारा उपभोग्य वस्तुहरूको उत्पादन गरिन्छ । राजनीतिक विकास भनेको मानिसलाई परिचालन गर्ने प्रकृया हो । मानिसलाई विकासका निमित्त उत्प्रेरित गर्ने राजनीतिक संस्थाहरू हुन्छन्, जसका मार्फत् उनीहरू विकास कार्यमा संलग्न हुन्छन् । २०१७ साल यता, गत बीस वर्षमा मानिसलाई पनि प्राकृतिक स्रोतहरूलाई जस्तै गरी विकासका लागि परिचालित गर्न सकिन्छ भन्ने भ्रमात्मक धारणा लिएर विकास गर्न खोजियो । फलस्वरूप आज देश यो दुर्दशामा पुग्यो । वास्तवमा जड शक्ति–स्रोतहरूलाई भन्दा जनशक्तिलाई परिचालित गर्नु झन् गाह्रो छ । जनताको निहित स्वार्थ भएका राजनीतिक संस्थाहरू नभईकन जनता विकास कार्यका लागि उत्प्रेरित हुँदैनन् ।

अमेरिकामा साधन, स्रोत र पूँजीलाई राष्ट्रको विकास कार्यमा कसरी कति प्रयोग गर्ने भन्ने मात्र प्रश्न छ । अर्थात् त्यहाँको समस्या बजेटको विनियोजन सित सम्वन्धित छ । स्वास्थ्य, शिक्षा, यातायात, प्रतिरक्षा, उद्योग, कृषि या अन्य क्षेत्रहरूमा कति रकम कसरी छुट्याउने भन्ने उनीहरूको प्रश्न हो । तर हाम्रो देशमा यी सव क्षेत्रमा विकास गर्नका लागि साधन, स्रोत र पूँजी कहाँबाट जुटाउने भन्ने समस्या छ । अरू स्रोत केही नभएको ठाउँमा केवल मानवीय शक्ति मात्र परिचालन गरेर विकास गर्ने कुरा आउँछ । त्यही मानवीय शक्तिलाई पनि जड शक्ति समान ठानेर विकासका लागि परिचालन गर्न खोजियो भने त्यसको परिणाम आज नेपालको जुन दुर्दशा छ त्यही हुन्छ ।

आर्थिक विकास र राजनीतिक विकासको के कस्तो सम्बन्ध छ भन्ने कुरा मेरो भनाइको अर्को पक्ष हो । कुनै पनि ठाउँमा विशेषगरी नेपाल जस्तो ठाउँमा आर्थिक विकासको लागि परिचालित हुनसक्ने शक्ति मानवीय शक्ति नै हो भनेर मैले भनिहालेँ । त्यसलाई कुनै एकजनाको सकृय नेतृत्वमा परिचालन गर्न सकिन्छ भन्ने पञ्चायती व्यवस्थाका दार्शनिकहरूको सोचाइ छ । उनीहरूको दलील छ—आखिर विकास प्रकृयाको सञ्चालन गर्ने नेतृत्व एक न एक चाहिन्छ र त्यो राजाको सकृय नेतृत्व बाहेक केही हुन सक्दैन । हाम्रो प्रश्न छ—यदि यही मात्र एउटा उपाय हो भने राजा भएको ठाउँमा त राजाको नेतृत्वमा विकास गर्ने, तर राजा नभएका ठाउँमा विकासका लागि जनशक्ति परिचालन गर्ने नेतृत्व कसले गर्छ ? सारांशमा हाम्रो भनाई के हो भने विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकताहरू निर्धारण गर्छ । विकासका योजनाहरू उसैले बनाउँछ र तिनको कार्यान्वयन गर्न पे्ररित पनि हुन्छ—त्यो जनता हो ।

सार्वजनिक या राष्ट्रिय महत्वको कुनै प्रश्नमाथि विवाद उठेमा जनताले निर्णय गर्छ । कसैको सकृय नेतृत्वले होइन । यसरी राष्ट्रिय महत्वका प्रश्नहरूको चुनावद्वारा निर्णय गर्ने अधिकार जनताको हो । त्यसकारण जनतालाई विकास कार्यका लागि उत्प्रेरित हुने राजनीतिक संस्थाहरूमध्ये एक मौलिक अधिकारहरूको प्रत्याभूति हो । मौलिक अधिकार भन्नाले बोल्ने, विचार गर्ने, आफ्नो विचार फैलाउने, संगठन गर्ने र समानताको आधारमा न्याय पाउने अधिकारहरू पर्छन । समानताको आधारमा न्याय दिनका लागि अदालतले सरकारमाथि पनि न्याय गर्ने क्षमता राख्नुपर्छ । चाकरीद्वारा निर्मित अदालतले त्यस्तो क्षमता राख्दैन । दोस्रो, राष्ट्रको संचालन या प्रशासन जनताद्वारा छानिएका प्रतिनिधिहरूले गर्ने व्यवस्था हो । छान्ने या छानिने भन्ने बित्तिकै दुई (या त्यो भन्दा बढी) विचारधाराहरूमा एउटालाई छान्ने भन्ने कुरा आउँछ । त्यसकारण चुनाव भनेको आफ्नो विचार जनसमक्ष राखेर त्यसै विचार या सिद्धान्तका लागि मत प्राप्त गर्ने प्रकृया हो । यदि निर्वाचित जनप्रतिनिधिद्वारा शासन व्यवस्था चलाउने हो भने चुनावमा कुनै किसिमको छेकबार राख्नु बेठिक हुन्छ ।

म पञ्चायतको घोर विरोधी भएकाले त्यसवापत अरूले जस्तै मैले पनि गत बीस वर्षमा अनेक दुःख कष्ट झेल्नुृप¥यो । जे भए पनि म कुनै कुरालाई व्यक्तिगत आधारमा लिन्न । तर मलाई के लाग्छ भने जनअधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिकक्षेत्रमा शोषणको रूप लिन्छ । राजनीतिमा दमन र आर्थिक क्षेत्रमा शोषण—म यी दुवै कुराको विरुद्धमा छु ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी युनियनद्वारा आयोजित विचार गोष्ठीमा दिएको भाषण, १२ साउन २०३७ ।

सभार : ‘बी.पी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता’  

पञ्चमी स्नान : एउटा निःशुल्क तमाशा

पारिजात

समाजमा अवस्थित तथा व्यवस्थित रूढि, अन्ध परम्परा, कुसंस्कार र धर्मान्धता जस्ता प्रगतिविरोधी प्रवृत्तिहरू सामाजिक श्रमिक विकासको दौरानमा विशेष गरिकन शिक्षाको विकास र वैज्ञानिक चमत्कारहरूले गर्दा क्रमशः अलिअलि भए पनि सुधारतर्फ अग्रसर हुँदै जान्छन् । यसै सन्दर्भमा भनौँ नेपालको धार्मिक रूढि अन्तर्गत नारी शोषणका निम्ति प्रचलनमा ल्याइएका वर्षभरिमा लिनपर्ने दुइ महत्वपूर्ण व्रत हरितालीका तीज र ऋषि पञ्चमी आजसम्म पनि नेपालका आर्यनारीहरूलाई बाध्यताको रूपमा लादिएको छ । यी दुइवटा व्रत आर्यनारीहरूले नलिइकन सुखै छैन । क्रमिक विकासको नाममा केसम्म भएको छ भने आजभोलि तीजको व्रत लिने शिक्षिताहरू यसो लुकेर खाने गर्छन् मेरै घरमा तीजका व्रतधारी महिलाहरूले कत्तिपल्ट डबल अमलेट र मिश्री काँडा उडाएर गएका छन् । म यसलाई सराहना गर्छु । आजभोलि शिक्षित पतिहरू आफ्नो धनधान्य र दीर्घायुको कामना गर्न तीस घण्टाको उपवास (पानी पनि पिउन नपाउने) बस्ने विवश पत्नीहरूको निम्ति गुँदपाक र यस्तै तागतवद्र्धक खानेकुरा लुकाएर ल्याइदिन्छन्, म यसको पनि सराहना गर्छु । यस्तै पञ्चमीको व्रत लिने शिक्षिताहरूको आजभोलि रीत अनुसार प्रयोग गर्नपर्ने सामानहरू बगाइवरी केवल स्नान गरेर आउँछन् र यसो आँखा छल्न पाए चियासिया पिउने पनि गर्छन, म यसको पनि सराहना गर्छु । यसले के संकेत गर्छ भने अब यस धार्मिक रूढिप्रति केही महिलाहरूको विश्वास उठ्नथालेको छ तर सभ्यताको पाङग्रा अलिक छिटो–छिटो गुडेको हेर्न चाहनेहरूले क्रमिक विकासमा मात्र भर परेर हुँदैन ।
panchami snaan
यस्ता रूढिहरूलाई क्रमशः सजिलो पार्दै पूरै उन्मूलनतर्फ लैजाने कुरा सोच्नुपर्छ । पुराना विचार राख्नेहरूसँग बराबर बहस पनि गर्नुपर्छ कतै कतै विद्रोह पनि गर्नुपर्छ । यी त भए सकारात्मक पक्ष र सोचाइहरू तर विगत पाँच–छः वर्ष अनुभव समाल्दा विशेष गरी पञ्चमीको व्रत सुधारतर्फ नगएर भयंकर विकृतितर्फ गइरहेको भान हुन्छ । पूँजीवादी संस्कृतिको संक्रमण र हिन्दी फिल्मको प्रभावमा परी यो पञ्चमी व्रत पुरुषहरूको मनोरञ्जनको निम्ति निःशुल्क साधन बन्नपुगेको छ । पुरुष हैकमवाला समाजमा अधिकांश पुरुषहरू महिलाहरूबाट सेवा मनोरञ्जन नै खोज्छन । यस्तो स्थितिमा महिलाहरू पनि पुरुषलाई नै मनोरञ्जन दिउँ, खुशी पारौँ भन्ने चाहना राख्छन् भने दोष कसको ? यसपालाको पञ्चमी व्रतमा विष्णुमतिमा स्नान गर्ने महिलाहरूको क्रियाकलाप पुरुष जमातका निम्ति निःशुल्क तमाशा भएको थियो । यस्तै तमाशा टेकु दोभान र पशुपतिमा पनि भएको हुनुपर्छ । यसपाली त यो स्नानले यत्ति उच्छृङ्खल रूप लियो कि त्यो स्नान हेर्ने पुरुषहरूको आँखामा जस्ताको तस्तै बास बसिरहेको होला । घुँडे पानीमा अर्धनग्न पल्टिएर, विभिन्न मुद्रामा अंग प्रदर्शन गरी समयभन्दा बढी जलक्रीडामा मग्न भएर पूल, पाटी र बगरभरि उभिएका लोलुप पुरुषहरूलाई आँखे मनोरञ्जन दिन महिलाहरू प्रशस्त सफल भएका थिए । त्यो दिन कसैलाई पनि पञ्चमी स्नानको बोध भइरहेको जस्तो देखिएन । उनीहरू मात्र के सोचिरहेका थिए भने, ती तमाशे पुरुषहरूको ध्यान कसरी आकर्षित गरूँ । लामोभन्दा लामो जलक्रीडालाई मन नगरी–नगरी सिद्धायएपछि जुवारी गीत शुरू भयो । गीतमा महिलाहरूका व्यथा गाथाहरू केही पनि थिएनन् । यस किसिमका गीतहरू प्रायः उच्छृङ्खल हुने गर्छन् । यसपाला गीतले अश्लीलताको सीमा पार गरेको थियो । अशिक्षित नै किन नहोउन्, महिलाहरूलाई पुरुषहरूसँग यस किसिमका गीत दोहोरी गाउन लाज लाग्दैन ? गीतहरू सुन्दा र जलक्रीडाको विकृति परिपाटी देख्दा यस्तो लाग्यो नेपाली महिलाहरू स्वतन्त्र छन्, यस्तो परिभाषा कस्तो हुन्छ त्यो बुद्धिजीवीवर्गहरूलाई व्याख्या गरिरहन पर्दैन । स्मरण रहोस्, पञ्चमी स्नानको बाध्यता मंगोल नारीहरूलाई छैन तर यसपालि जलक्रीडाको लोभमा परेर हो अथवा अंग प्रदर्शनको कारणले हो, केही मंगोल महिलाहरू पनि बडो आधुनिक तरीकाले पानीमा जलपरी जस्तै खेलिरहेका देखिए । सुधार गर्दै  लानुपर्ने रूढिलाई अनिवार्य नहुनेहरूले पनि यसरी ह्रदयङ्गम गरेको देख्दा महिला मुक्तिकामीहरूको चित्त काट्टिनु स्वाभाविक हो ।

कला साहित्य उत्सवको डिस्कोर्स

muna-raj-sir

मुनाराज शेर्मा

दोस्रो विश्वयुद्धपछि विश्वका धेरै देशमा एकतन्त्रात्मक शासनको अन्त्य र प्रजातन्त्रको उदय भयो । प्रजातन्त्र स्थापना गर्न दोस्रो विश्वयुद्धपछि शक्ति राष्ट्रहरूको उपनिवेशमा रहेका राष्ट्रमा भएको सामाजिक आन्दोलनको महत्त्वपूर्ण भूमिका रह्यो । त्यही सामाजिक आन्दोलनले ती देशमा प्रजातन्त्रको घाम लाग्यो । प्रजातन्त्रको परिवर्तित, सबैभन्दा सुन्दर र परिष्कृत रूप लोकतन्त्र हो । जो स्वतन्त्रताको ल्याटेस्ट रूप हो । यसको अर्थ हरेक वैयक्तिक स्वतन्त्रताको पहिलो रूप हो । यद्यपि यो नै अन्तिम होइन । तिनै देशमा बौद्धिक बहसहरू खुला हुन्छन्, जहाँ लोकतन्त्र छ । नेपाल राजनीतिक स्थायित्व र आर्थिक प्रगतिका दृष्टिले कमजोर भए पनि चेतना प्रयोग र स्वतन्त्रताका दृष्टिले विश्वका कयौँ शक्तिशाली मुलुकको नजिक छ । त्यस कारण देशमा हाल बौद्धिक बहसहरू भइरहेका छन् र यसको निरन्तरता हुनुपर्छ । जसका लागि राष्ट्रले नै यस कार्यका लागि प्रोत्साहन गर्नुपर्छ ।

पछिल्लो समय नेपाल लिटरेचर फेस्टिवल र रिडर्स झापाको कला साहित्य उत्सव विगत पाँच वर्षदेखि निरन्तर भइरहेका साहित्यिक र विचारका उत्सव हुन् । राज्य भन्नाले साहित्य लेखन गर्ने, बौद्धिकहरू, गीत लेख्ने र गाउने तथा कलामा समर्पित हुनेहरू पनि हुन् । यिनीहरू पनि राज्यका अवयव हुन् । जे गरिरहेछन्, ती सब राज्यको समृद्धिका लागि गरिरहेछन्।

मोफसलमा कला साहित्यको उत्सव हुन्छ र गर्न सकिन्छ भन्ने कुरा स्थापित गर्ने पहिलो संस्था रिडर्स झापा हो । २०६४ साल वैशाखदेखि अनौपचारिक रूपमा विभिन्न क्षेत्रमा सव्रिmय युवाहरूले शनिवार बिहानको समयमा भेला भई समसामयिक विषय र आफूले पढेका पुस्तकहरूको बारेमा गरेको छलफल नै रिडर्स झापाको बिजविन्दु हो । सुरुवातमा ५÷६ जना युवाहरूको भेटघाट र छलफल गर्ने थलो नै पछि ‘रिडर्स झापा’ भयो ।

fourth-session-kagendra

पुस्तक किन्ने, साटेर पढ्ने तथा काँकरभिट्टामै रहेको सहकारी पुस्तकालयको सदस्य बनेर अध्ययन गर्ने कार्यले रिडर्स झापाका युवाहरूमा अध्ययन गर्ने बानीको विकास गर्दै लग्यो । पढेका कुराहरूका बारेमा आपसमा छलफल गर्ने कार्यले यसलाई सिकाइ केन्द्रको रूपमा विकास ग¥यो । यसले २०६९ सालमा काँकरभिट्टामा पहिलो कला साहित्य उत्सव सम्पन्न ग¥यो । केन्द र मोफसलको द्वन्द्वभन्दा माथि उठेर यसले सीमान्त सहरमा अन्तरदेशीय साहित्यिक महोत्सव ग¥यो, जुन अद्भूत र यस क्षेत्रका मानिसहरूको लागि एउटा गौरव थियो । दोस्रो कला साहित्य उत्सव २०७१ मा आयोजना गरिएको थियो । जसले नेपाली साहित्य, कला, गीतसङ्गीत, पत्रकारिता र सामाजिक आन्दोलनका विषयहरूमा तीन दिन बहस चलायएको थियो । अहिले रिडर्स झापा कला साहित्य उत्सवको तेस्रो संस्करण २०७३ फागुन १२, १३ र १४ गते काँकरभिट्टामा आयोजन गर्ने अन्तिम तयारीमा छ ।

यो विशुद्ध बहस गर्ने युवाहरूको जमात हो । यसले बहुल विचारलाई आत्मसात् गरेको छ । काँकरभिट्टामा रिडर्स झापाका साथीहरू प्रत्येक शनिवार बिहान भेला भएर बौद्धिक बहस गर्छन् । पहिलो झुल्केघामलाई सीमा अपराधबाट पखालेर चेतनाको घाम बनाएर देशमा पठाउँछन् । म कति पटक सबेरै त्यो भेलामा सामेल भएको छु । कति पटक सहभागी हुन नसकेर चुकचुकाएको छु । हामीले सुनिरहेको सुसेली साहित्यिक परिवारको कार्यक्रम, देवकोटा जयन्ती, भानु साहित्यिक प्रतिष्ठानले आयोजना गर्ने भानु जयन्तीको कार्यव्रmम काँकरभिट्टाका गहना हुन् । तथापि रिडर्स झापाले त्यही ठाउँमा आयोजना गर्ने कला साहित्य उत्सव भने पृथक् छ । यसको आफ्नो स्थायी स्रोत केही छैन । केही युवा भेला भएपछि यसले संस्थाको आभास दिन्छ । त्यहाँ हुने बहस नै यसको शरीर र आत्मा दुबै हो ।

यो कुनै राजनीतिक दलको भ्रातृ संगठन होइन । तर, यो बाँसको तामा जस्तो चेतनाको ठोसा लिएर उम्रेको बौद्धिक क्षेत्रमा समर्पित युवाहरूको समूह हो । हो, लोकतन्त्रमा सबै आआफ्नो राजनीतिक आस्थामा आबद्ध हुन्छन् । तर, हरेक व्यक्ति स्वतन्त्र संगठनमा आबद्ध भई विविध गतिविधिमा संलग्न हुन्छन् र व्रिmयाशील हुन्छन् । यो स्वतन्त्रता हाम्रो संविधानले हामीलाई दिएको छ । रिडर्स झापा सिलौटामा बुद्धि घोटेर देशलाई केही भनिरहेको छ, सचेतना जगाइ रहेको छ । हाल पूर्वमा लिटरेरी ग्रुप दमक, गाउँमा कविता झोराहाट, सर्जक मञ्च विर्तामोड त्यही गरिरहेका छन् । रिडर्स झापाले विचार मन्थनको उत्सव गर्न स्रोत र साधन जुटाउन सरकारी कार्यालयदेखि विभिन्न संघसंस्था, व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तिहरू सबैलाई अनुरोध गर्छ र गरिरहेको छ । यो आम जनसमुदायको हो । यसको नसामा सबै किसिमका बहुल विचार सञ्चार गरिरहेका छन् । यो समूह जे गर्छ समाज, राष्ट्र र समुल जनताको चासोको विषयमाथि गर्छ ।

साहित्य कला, संगीत, राजनीति, आर्थिक प्रणाली, विदेश नीति, पहिचान, महिला सशक्तीकरण आदिमाथि हालसम्म बहसहरू भएका छन् । बुक स्टल, कला प्रदर्शनी, नाटक, काव्य गोष्ठी, गायन यसका झलक हुन् । एकल गायन यस पटक नयाँ इपिसोड हुने छ । यी सब कार्यक्रम देशकै नमुना बनाउन चर्चित वक्ता र मोडरेटरको आवश्यकता पर्छ । विविध विषय क्षेत्रका विज्ञहरूको प्रस्तुतिले कार्यव्रmम चुस्त, सूचनामूलक, ज्ञानवर्धक र ओजपूर्ण हुन्छ । त्यसको छनोट रिडर्स झापाको बैठकले तय गर्छ ।

प्यानल डिस्कसन दमदार भएन भने यसले कार्यव्रmमको महत्त्व घट्छ । कार्यक्रम दमदार हुने कुरा छलफलको विषय, वक्ताको निर्भीक शैली, कला र ख्यातिसँग जोडेर हेरिन्छ । हामीले वक्ता र प्रस्तोताको क्षमतालाई भन्दा भागबन्डातिर ध्यान दियौँ भने त्यो अक्षम्य गल्ती हुने छ । जसले उपस्थित श्रोताहरूको चाहनालाई समाप्त पार्छ नै कार्यव्रmमको औचित्यमाथि प्रश्न खडा हुन्छ । त्यसकारण स्थानिकता महत्त्वपूर्ण हुँदा हुँदै पनि सम्पूर्णता लागु गर्न सकिँदैन । यति खेर यो विषय व्रmमशः क्षमता वृद्धिको आधारमा समावेशिता खोज्दै जाने हो । अर्काे पक्ष पालोको आधारमा पनि अघि बढाउन सकिन्छ ।
काठमाडौँले मात्र यो काम गर्न सक्दैन । अरू क्षेत्र पनि यस्ता वैचारिक बहसका लागि सक्षम छन् । राज्य काठमाडौँ मात्र होइन अरू भाग पनि हो भन्ने देखाउन हामी यो कार्यक्रम गरिरहेका छौँ । त्यसो हुँदा पनि हामीले मिडिया हाउस ल्याउनु पर्ने हुन्छ । उत्कृष्ट वक्ता ल्याउनु पर्छ । उनीहरूको विचार सुन्ने र हाम्रो प्रतिव्रिmया दर्साउनु पर्ने हुन्छ । एन्टिरियाक्सनले हामीमा अब्बल र असल चेतना जन्माउँछ । यही नै कार्यक्रमको अभीष्ट हो ।

यो कला साहित्य उत्सव देशीय मात्र होइन अन्तरदेशीय हो । विचारहरू स्विकार्नै नसकिने गरी पनि हामी सुन्छौँ, सुनाउँछौँ र बिस्तारै गोड्छौँ अनि छानेर लिन्छौँ । हामी अरूलाई स्विकार्छौँ । त्यही आम स्वीकारोक्तिका लागि यो ब्रोड चेतनाका साथ उभिएको हो । गुनासाहरू नउठ्ने हुँदै होइनन् तर गुनासाहरू बिच पनि राम्रो विचार दिन सक्नु रिडर्स झापाको अभीष्ट हो । गुनासो उठोस् भन्ने सचेतना यसले बोकेको छ । जुन सबैको फराकिलो चेतना र सहृदयले मात्र पुरा हुन्छ ।

एकला चलो

उज्ज्वल प्रसाई

ujjwal-prasai-ji

साँझ ढल्दै गर्दा होस् वा शारदीय मधुरो घाममा होस् वा हिउँदको मध्य दिन, फुर्सद मिल्यो भने पैदल हिँडेर थुप्रै बाटा छिचोल्थ्यौं म र शैलेस सर । काँकरभिट्टामा सम्भवत हामीले त्यसरी गफ गर्दै नहिँडेका बाटा कुनै छैनन् । लगभग पाँच वर्षजति लगातार पैदल हिँड्यौं । कहिलेकाहीँ सोच्छु, कति किलोमिटर छिचोलियो होला ती पाँच वर्षमा ? अस्ति घर गएका बेला सरलाई सोधेको, सदा झैं उनी फिस्स हाँसे मात्रै ।

कहिले वर्मेली बस्ती हुँदै सालघारीसम्म । कहिले साठी बिगाहा हुँदै सतिघट्टा चिया बगानसम्म । कहिले सालघारीबाट टोकला चिया बगान पसेर काली खोला पारीको शान्ति गाऊँसम्म । कहिले राजमार्गको छेऊ छेऊ हिँडेर इटाभट्टासम्म । त्यसरी पैदल नहिँडेको फुर्सदमा हामी धेरै जसो नजिकैको ठूलो शहर सिलिगुडी जान्थ्यौं । तर, सिलिगुडी जानु खुट्टाले बाटो नाप्दै काँकरभिट्टाको चार किल्ला छिचोल्नु जति सस्तो हुँदैन थियो । गाडी चढ्ने, सिनेमा हेर्ने, किताब किन्ने र खाजा खाने पैसाको जोहो नभइञ्जेल हामी काँकरभिट्टामै पैदल हिँड्थ्यौं ।

मलाई कक्षा ७ मा केही दिन इतिहास पढाएका मेरा गुरु हुन् शैलेस दाहाल । अकाउण्ट्स र एग्रीकल्चर दुई विषय छान्न पाइन्थ्यो कक्षा ९ मा । मैले एग्रीकल्चर रोजेकाले अकाउण्ट्सका शिक्षक शैलेसले त्यही दुइ चार घण्टाको इतिहास कक्षाभन्दा बढी पढाएनन् मलाई । मेरा अरु सबै सहपाठीलाई भने कक्षा ९ र १० मा अकाउण्ट्स पढाए । कक्षा सातमा छुटेको शैलेस सरसँगको यात्रा कक्षा १० तिर पुगेपछि फेरि शुरु भयो । हल्का ठट्टा रमाइलो गर्ने, स्कूल बिदा भएपछि चिया पिउने, अनि किताब पढ्नमा रुचि जाग्दै गरेकाले कहिलेकाहीं साहित्यका बात गर्ने । दोस्ती बिस्तारै गाढा हुँदै गयो । पहिले शिक्षक र विद्यार्थीको औपचारिकता थियो, समयसँगै घनिष्ठ साथीको निकटता बढ्यो । तन्नेरी थिए शैलेस सर, त्यही २५ वर्षका । म तन्नेरी उन्मुख थिएँ, १६ वर्ष लाग्दै गरेको ।

कुनै चिया पसल वा घरैमा बसेर पनि गफ गर्न सकिन्थ्यो । कसरी हिँडेर गफ गर्नुपर्ने बानी लाग्यो होला ? यति सामान्य प्रश्न आखिर सत्ता र राजनीतिसँग जोडिन पुग्छ । अहिले सम्झँदा हाँसो लाग्छ । त्यसरी हिँडेर गफ गर्नुभन्दा पहिले हामी काँकरभिट्टा मा.वि. छेऊको शिवालय डाँडोमा जान्थ्यौं । त्यसो त त्यो डाँडोको उति सुनाम थिएन काँकरभिट्टामा । त्यो गँजडीहरुको गाँजा तान्ने र सुस्ताउने अड्डा थियो । हामी साँझपख जाँदा त्यहाँ त्यति धेरै मान्छे हुँदैन थिए । सानो थुम्को, बिच भागमा शिव मन्दिर, अघिल्तिर बस्ने सिमेन्टका कुर्सीहरु थिए । वरपर बाँसघारी थियो, तलतिर उप्रेती गाउँ । डाँडाबाट मेची खोला र पारीपट्टी भारतको पानीटंकी भन्ने ठाउँका केही भाग देखिन्थे । सिरसिर बतास चल्थ्यो । गर्मी याममा हाम्रालागि त्यो काइदाको एकान्त हुन्थ्यो । खुलेर गफ गर्न पाइने, शितल ताप्न पाइने । बेलुका मात्र आइपुग्ने कान्तिपुर र द काठमाडौं पोष्ट बोकेर पुगेका हामी समाचार र लेखहरु पनि त्यहाँ बसेर पढ्थ्यौं । पत्रिकामा अक्सर लेखिरहने खगेन्द्र संग्रौला, अभि सुवेदी, नारायण वाग्ले, कृण्णमुरारी भण्डारी, इश्वर बल्लभ, सञ्जिव उप्रेती, अरुण गुप्तो, पिटर जे कार्थक, आदित्य शर्मा लगायत हामीले कहिल्यै प्रत्यक्ष नभेटेका मानिस र तिनले लेखेका विषय हाम्रा गफमा आइरहन्थे । यसरी एकान्तमा बसेर गफ गर्ने त्यो शिवालय डाँडो शैलेस सर र मेरो बिल्कुल निजी जस्तो र बडो प्यारो स्पेस बनिसकेको थियो । ऊबेलाको सत्ताले हाम्रो त्यो प्यारो स्पेस कब्जा ग¥यो । हामी सडकमा पुग्यौं । त्यसपछि कहिल्यै फर्केर शिवालय डाँडो गइएन, बरु गफ गर्नलाई हामीले सडक नै रोज्यौं ।

माओवादी सशत्र विद्रोह चर्कँदै गएपछि कुन मेसोले हो, भन्सार राजस्वको रखवारी गर्ने जिम्मा नेपाली सेनालाई दियो ऊबेलाको सरकारले । को थियो प्रधानमन्त्री ? यकिन छैन । सेनाले आफ्नो क्याम्प बसाउन अग्लो ठाऊँ रोज्ने रहेछ । त्यही शिवालय डाँडोमा उसको अड्डा बस्यो । त्यहाँ उक्लन सेनाको अनुमति जरुरी हुन थाल्यो । शुरुमा खासै कडा थिएन । मन्दिर भएकाले भक्तालु र शिवका चेला चपेटा गँजडीहरु पुलुक्क सेन्ट्रीलाई हेर्दै उकालो लाग्थे । सेना बस्न थालेपछिको केही समयसम्म हामी त्यहाँ गइरह्यौं । तर, माओवादीको प्रभाव र हल्ला खल्ला बढ्दै गएपछि त्यहाँ कडाइ गर्न थालियो । बिस्तारै सेनासँग आँखा जुधाउँदै त्यहाँ जान सबैलाई सकस प¥यो । त्यसरी अप्ठ्यारो मान्दै जान दिक्दार लाग्न थाल्यो । (अहिले पनि त्यहाँ राजस्व गस्तीको जिम्मा पाएको सशत्र प्रहरीको क्याम्प राखिएको छ ।) त्यसरी बसेर गफ गर्ने अर्को उपयुक्त ठाऊँ हामीले पत्तो लगाउन सकेनौं । केही बेर अंकित पुस्तक पसलमा बस्ने, चिया पसलमा चिया पिउने, अनि रातको लगभग ८ बजेसम्म हिँडेरै गफिइरहने । पूर्वतिर माओवादीको प्रभाव बढ्दै गएपछि, रातको समयमा सडक पनि पुलिसबाट शासित हुन थाल्यो । हाम्रो हिँडाई साँझ छिप्पिएसम्म मात्रै कायम रह्यो ।

केही समयपछि म कलेज पढ्न भद्रपुर गएँ । बिदामा घर आउँदा, हाम्रो उही रुटिन दोहोरिन्थ्यो । त्यसको लगभग डेढ वर्षपछि म बिर्तामोडमा कञ्चनजंघा एफ.एम.को जागिरे भएँ । तर हरेक शुक्रबार र शनिबार हाम्रो उस्तै हिँडाई चल्थ्यो । उच्च शिक्षा लिन थालेसँगै, पठनमा तिब्रता र विविधता आयो । सञ्चार क्षेत्रमा काम गर्न थालेसँगै, अनेक मानिससँगको संगत र विभिन्न अनुभव सँगालिए । गफ गर्नलाई अझै धेरै विषय हुन थाले । हरेक सप्ताहन्तमा हामी बेतोडले गफिएर हिँड्थ्यौं, उही सतिघट्टा, साठी विगाहा, पुरानो भन्सार, शान्ति गाऊँ, बर्मेली बस्ती, सालघारी, र पानीटंकी ।

त्यसरी हिंड्ने क्रममा शैलेस सरले मलाई बिटल्सको कथा सुनाए । जोन लेनन् र ‘इमाजीन’सँग साइनो गाँसिदिए । उही बेलामा उनले पढेका हरिभक्त कटुवालका कविता र किस्सा सुनाए । स्टिभी वन्डर र नोरा जोन्स, रवि शंकर र गुल्जार मलाई उनैले चिनाएका हुन् । पछि हामीले सँगै एल्टन जोन र जोन डेन्भर, जगजित सिंह र भुपेन हजारिका पत्ता लगायौं । शैलेस सरको सिमित आय, मेरो अति सिमित पकेट खर्च जोगाएर थुप्रै क्यासेट किन्यौं । गीत र गजल खुब सुन्यौं । सिनेमा पनि उतिकै हेर्यौँ ।

त्यही हिँडाईमा हामीले सँगै पारिजातको ‘शिरीषको फूल’ पढने निर्णय ग¥यौं । हाम्रा अनेक अतृप्ती थिए, दुनियाँसँग हाम्रा थुप्रै गुनासा थिए । शैलेस सरसँग अधुरा सपना र अपूरा चाहानाका चाङ थिए । मसँग धेरै पढ्ने र लेखक बन्ने हुटहुटी थियो । तर, मैले चाहे जस्तो उन्मुक्त पढाइ गर्ने छुट नहुँदा मेरा आफ्नै खालका गुनासा र दिक्दारी थिए । ‘शिरीषको फूल’मा सकमबरीले व्यक्त गर्ने दर्शननै लगभग हाम्रो पनि कयौं दिनसम्मको दर्शन बन्यो । सकमबरीका कति संवाद त मुखाग्रै थिए, तिनैको जीवनको त्रासदी हाम्रो चिन्तनको मौलो बन्यो । सो उपन्यासमा भूमिका लेख्ने शंकर लामिछानेलाई खोज्यौं । उनलाई राम्ररी चिन्ने र पढ्ने धोको पाल्यौं । एकदिन बिर्तामोड पुगेर साझा प्रकाशनको आउटलेटबाट सहुलियत दरका थुप्रै किताब किन्यौं । शंकर लामिछानेका निबन्धहरु किन्यौं, वि.पि कोइरालाका उपन्यासहरु किन्यौं, ध.च. गोतामे र ध्रुवचन्द्र गौतमका कृतिहरु किन्यौं ।

‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ संग्रह पढ्यौं । पहिलो निबन्ध ‘देउताको काम’ले मुग्ध भएर हामीले शंकरको व्यक्तित्व कस्तो थियो होला भन्ने चर्चा गरेरै कति दिन बितायौं । कति निबन्ध बुझिएन तर शंकरको लेखनशिल्पले तानिएर होला, उनका संग्रहमा भएका निबन्धहरु जति दोहोर्याएर हामीले सम्भवत अरु कुनै चिज पढेकै छैन । त्यसपछि अगमसिंह गिरी खोज्यौं, भीमदर्शन रोका खोज्यौं, अम्बर गुरुंग खोज्यौं । यी सबैको चर्चा गरेर ‘लेट रेस्पोन्स’ स्तम्भ लेख्ने पिटर जे कार्थकको कुनै स्तम्भ नछुटाई सँगै बसेर पढ्यौं । कार्थकले चर्चा गर्ने जिम खाना र नर्थ प्वाइन्ट स्कूल खोजेर हेर्ने निधो त्यही हिंडाईमा गर्यौँ । दार्जीलिंग पुगेर यी सबै ठाउँ हेरेको दिन गदगद थियौं हामी ।

त्यही बेला काँकरभिट्टामा पुस्तकालय खुल्यो । बिहानभरी कलेजमा फिजिक्स, केमेष्ट्री, र बायोलोजी पढेर दिक्दार भएको म दिनभरी पुस्तकालयमा बसेर तानाशर्मा र खगेन्द्र संग्रौला पढेर बस्थें । बेलुकाको हिँडाईमा दिउँसो पढेका सबै शैलेस सरलाई सुनाउँथे । उत्साहित भएर सुन्थे उनी । नेपाली साहित्य र नेपालका अखबार धुमधाम पढिरहेका बेला, हाम्रो संगतमा मेरा अर्का गुरु थिए, कृष्ण कार्की । शैलेस सरकै दौंतरी उनी साइन्स र म्याथका शिक्षक थिए । कक्षा १० को म्याथ र अप्सनल म्याथ उनैको घोटाइबाट पार लगाएको थिएँ मैले । कृष्ण सर पनि उत्पात पढ्ने । बंगालको अंग्रेजी पत्रिका ‘द स्टेट्सम्यान’ शिरदेखी पुछारसम्म सबै पढेर सिध्याउने । कुनै किताब भेटे एकोहोरो पढेर भरी सके एकै बसाईमा भ्याउने । उनले अंग्रेजी किताब पढ्न हौस्याए । त्यसअघि मेरा अर्का गुरु नबिन प्रधानले अंग्रेजी भाषाका कथा, कविता, र उपन्यास केही चखाएका थिए ।

उनीहरुकै हुटहुटीले शैलेस सर र मैले सिलिगुडीमा सबै भन्दा बढी कुनै चीज किन्यौं भने, ति किताब नै हुन् । पुराना किताब पाउने सडकपेटी चाहारेर दोस्तोएब्स्की, डिकन्स, सेक्सपियर, अर्वेल सबै ल्यायौं । खल्ती गह्रुँगो भएका बेला, नयाँ किताब पाउने एन.बी. मोडर्न बुक्स र लाइफस्टाइल बुक्स जस्ता बुकसप चाहार्यौं । कति पढिए, कति नपढी त्यतिकै रहे । कति बुझिए, कति बुझ्न नसकेर यसै छोडिए । तर, किताब खोज्न र पढ्ने प्रयत्न गर्न भने कहिल्यै छोडिएन । त्यही बेला सञ्जीव उप्रेतीले कुनै अन्तरवार्ता वा उनको कुनै लेखमा ऐइन र्यान्ड् भन्ने लेखकको चर्चा गरे । र्यान्ड्को किताब एक पछि अर्को गर्दै ल्यायौं सिलिगुडीबाट । एन्थेम र फाउन्टेन हेड जस्ता उपन्यास पढेर र्यान्डवादी नै भइन्छ कि जस्तो भयो । एउटा हिँडाइमा टोकला चिया बगानको भित्री भागमा पुगेका बेला फाउन्टेन हेडको अनौठो आर्किटेक्ट पात्रको कुरा गरेर शैलेस सरलाई मुग्ध बनाएको सम्झना अहिले पनि उतिकै ताजा छ ।

त्यसो त ‘गरिमा’ र ‘मधुपर्क’ सँगसँगै हामी ‘नव युवा’ र ‘मूल्यांकन’ जस्ता पत्रिका पनि पढ्थ्यौं । प्रगतिशील भनिएका लेखकहरुका पुस्तक पनि खोजी खोजी नै पढिन्थ्यो । खगेन्द्र संग्रौला, नारायण ढकाल, गोविन्द वर्तमान, श्यामल लगायतका रचना उही बेला खोजेर पढियो । सरुभक्तको ‘पागल बस्ती’ र नारायण ढकालको ‘दुर्भिक्ष’ पढेर बराबर प्रभावित हुन्थ्यौं । राजेन्द्र महर्जनको ‘समाजवादको सपना’ र ‘चे ग्वेभाराको जीवनी’ पढेर पनि उसैगरी प्रभावित हुने बेला थियो त्यो । पढेका चीजमाथि गम्भिर आलोचनात्मक चिन्तन गर्ने बानी बसेको थिएन । शैलेस सरले केही आलोचनात्मक ढंगले व्याख्या गर्थे तर त्यो कुनै संयक दृष्टिकोणसहित आउँदैन थियो होला । हाम्रो यात्राको पछिल्ला वर्षहरुमा भने केही ठोस विचारको अंकुरण भएको थियो र आलोचना गर्ने सामथ्र्य पनि विस्तारै बढ्न थालेको थियो । त्यसैले स्थानीय दैनिकमा मैले साप्ताहिक स्तम्भ लेख्न शुरु गरेको थिएँ ।

किताब र पत्रिका पढ्ने, पढेका विषयबारे सोच्ने । भेट भएपछि एक एक कप दुध चिया खाएर हिँड्न थाल्ने । हिँड्दै गयो, अघि पढेका विषयबारे गफ गर्दै गयो । कहिलेकाहीँ एक अर्काको बुझाईमा फरक पथ्र्यो । आ–आफ्ना अड्डी लिएर चर्काचर्की पनि गथ्र्यौं । दुवैका कान राता हुन्थे, स्वरमा कम्पन पनि आउँथ्यो । अन्तिममा भने एउटा टुंगोमा पुगेरै छोड्थ्यौं । म आलोकाँचो भएकोले जिद्धी मेरो बढी हुन्थ्यो । तर, उनले सूचना र तथ्य तेस्र्याए पछि म बिस्तारै गल्थें र उनलाई स्वीकार्थे । चल्ते रहो, बातें करते रहो ।

त्यसो त सधैं किताब र पत्रिकाकै मात्रै कुरा हुँदैन थिए । मान्छेका कुरा पनि खुब काटिन्थ्यो । चित्त नबुझ्ने मान्छे र मान्छेले बनाएको व्यवस्थासँगै हो । त्यसैले कुरा काटिनु स्वाभाविक हो । कहिलेकाहीं हतारिएर निश्कर्षमा पनि पुगियो । कहिले सूचनाको कमी र बुझाईको अल्पताले भ्रममै रमाइयो, वर्षौं । यो सबै प्रक्रिया हिँडाईंमै चलिरह्यो ।

त्यसो त हामी अडिने एक ठाऊँ थियो । हिउँदे बिदामा घर फर्केकी एउटी राम्री केटी थिइ, ऊ कहिलेकाहीं बजारमा देखा पर्थी । उसलाई देखेपछि हामी दुवै एकैछिन अडिन्थ्यौं, एक झल्को भए पनि राम्ररी हेथ्र्यौं । मुस्कुराउँदै बाटो लाग्थ्यौं । त्यसभन्दा बढी हामीले केही गरेनौं । बरु उसैको सम्झनामा एक एक थान कविता लेख्यौँ । हिंड्दा हिंड्दै दुवैले एक अर्काका कविता सुनायौँ । मैले त्यो कविता बिर्सें, कविता लेखेको डायरी पनि धेरै दिनदेखि घरमा देखेको छैन । शैलेस सरले राखेका छन् कि, सोधेको पनि छैन ।

हामी चाहँन्थ्यौ, शिवालय डाँडोमा बसेर साहित्य, संगीत, र विचारको यात्रा गर्न । हाम्रो चाहना सत्ता चलाउनेले बुझेनन् । तिनलाई बुझाउने यत्न गर्नुपर्छ भन्ने हामीलाई खासै भेऊ भएन होला । त्यो बुझाउनलाई राजनीतिक÷सामाजिक अभियान नै चलाउनु पथ्र्यो, त्यसो गर्ने हिम्मत हामीसँग थिएन । हामी सामुहिक दुख बुझ्ने र सामुहिक मुक्तिको सपना देख्ने मोडमा थिएनौं पनि । बरु हामी एक खाले अस्तित्ववादी लहडमा थियौँ । अहिले जब रविन्द्रनाथ ठाकुरको ‘एकला चलो’ पढ्छु, मलाई शैलेस सर र मेरो आफ्नै खाले ‘एकला चलो’ सम्झना हुन्छ । एकातिर सन्तुष्टि र अर्कातिर रिक्तता जस्तो केही महसुस हुन्छः ‘If they answer not to thy call, WALK ALONE’

अस्ति भर्खर अरुन कोलाटकरका कविता पढें । ‘डिरेक्सन्स’ शिर्षकमा उनका चार टुक्रा कविता छन् । ति सबै कविता पढ्दा, उही हाम्रो काँकरभिट्टे फन्को झल्को आइरहेको थियो । अरुनको ‘पोष्टबक्स’ उपशिर्षकको टुक्रो यस्तो छः

go straight
turn left
turn right
turn left
turn left
and there is the postbox

हामी पनि यसै त गथ्र्यौँ । सिधा हिँड्थ्यौं, देब्रे मोडिन्थ्यौँ, दाइने मोडिन्थ्यौँ, देब्रे मोडिन्थ्यौँ, फेरि देब्रे मोडिन्थ्यौँ, तर हाम्रो कुनै निर्दिष्ट पोष्टबक्स थिएन । सायद निर्दिष्ट पोष्टबक्स नहुनु राम्रो भयो । सायद कुनै खास पुग्नैपर्ने पोष्टबक्स नहुनु एउटा रिक्तता पनि थियो । पुग्नैपर्ने गन्तव्य पहिल्यै तय हुन्थ्यो भने, हाम्रो यात्रा जति रोमाञ्चक भयो, त्यति हुने थिएन । त्यस्तो गन्तव्य तय गरिन्थ्यो भने, दुईमा एक गन्तव्य हुन्थे– सामुहिक मुक्तिको काँचो संकल्प हुन्थ्यो अथवा बिल्कुल व्यक्तिवादी तुष्टि वा निराशाको वेदी हुन्थ्यो । त्यसैले अहिलेको यो सन्तुष्टि र रिक्तताको संगम नै के हो, मैले ठोस व्याख्या गर्न सकेको छैन । किनभने हामी त्यसरी एकोहोरो पुस्तक पढ्ने, संगीत सुन्ने, र हिँडेर गफ गर्नेमा मस्त भइरहेका बेला हाम्रै मुलुकका हामी जस्ता तन्नेरी समाजलाई भोक, रोग, उत्पिडन, र पछौटेपनबाट मुक्त गर्ने सपना लिएर युद्धमा होमिएका थिए । हाम्रो यात्रा र उनीहरुको यात्रामा फरक त छ नै तर कुन यात्रालाई सही ठहर्याउने र कुनलाई गलत भन्ने ? वा यी मध्ये कुनै पनि पुरै सही वा पुरै गलत छैनन् भन्ने ? यो असमञ्जस् हटाउन कोलाटकर वा ठाकुरको कविताले सकेको छैन । कोलाटकर ‘डिसिप्लिन’ उपशिर्षकको कवितामा भन्छन्ः

left
right
left
right
left turn
right turn
about turn
left
right
halt
attention
stand at ease
dismiss

हामीलाई आदेश दिने वा ‘डिसमिस’ गर्ने हाम्रा आफ्ना परिवार, समाजका मूल्य र परम्परा, हामीलाई हुर्काएका हाम्रा अग्रज थिए । हामीले यी सबैबाट केही जोगिँदै त्यो यात्रा गरेका थियौँ । हामीले ‘डिसिप्लिन’का केही पर्खाल तोडेका थियौँ । के हामी अहिले ‘डिसमिस्ड’ भयौँ ? थाहा छैन । ति साथीहरु जसले सिंगो व्यवस्थाको ‘डिसिप्लिन’ र आदेशको पर्खाल तोड्ने सपना लिएर युद्ध लडे, तिनीहरु कति होलान् जसले आफूलाई अहिले ‘डिसमिस्ड’ सम्झँदैनन् ? सायद यो थाहा पाउनु जरुरी छ । अगाडीको यात्रा त्यसैले तय गर्ला ।

के भन्नुहुन्छ, शैलेस सर ?

 

युद्धका नाइकेप्रति

bob-dylan-net-worth

बब डिलन

आओ युद्दका नाइकेहरू,
जसले बन्दुक बनायौ
जसले मृत्युजहाज बनायौ
जसले बम बनायौ
जो पर्खालपछाडि लुक्छौ
जो डेस्कपछाडि लुक्छौ –
र यो बुझ
नकाबभित्रको तिमीहरूको मुहार
म स्पष्ट देख्छु ।

तिमी – जसले विध्वंस सिर्जना गर्नेबाहेक
केही काम गरेका छैनौ ।
तिमी मेरो संसारसँग
बच्चाको गुडीयाजस्तै खेल्छौ
मेरा निर्दोष हातमा बन्दुक थमाएर
मेरो दृष्टिबाट बिलाउँछौ
र जब अन्धाधुन्ध बारुद चल्न थाल्छन्
तिमी फनक्क फर्केर कुलेलम ठोक्छौ ।

प्राचीन धोकेबाज जुडासजस्तै
तिमी झूट बोल्छौ, जालझेल गर्छौ
तिमी चाहन्छौ म विश्वास गरूँ
कि विश्वयुद्द जित्न सकिन्छ
तर म तिम्रो भित्री दृष्टि छर्लंग देख्छु
मेरो घर अगाडिको ढलमा बग्ने पानी जस्तै
तिम्रो भित्री मस्तिष्क देख्छु ।

सबै बन्दुकमा बारुद भरेर
अरूको हातमा थमाइदिएर
तिमी पछि हट्छौ र हेर्छौ
जब एकएक गर्दै मृतकको संख्या बढ्छ
कैयौं युवाको शरीरबाट बगेको रगतले
धर्ती रक्ताम्य हुन्छ
तिमी आफ्नो महलमा लुक्छौ ।

यो संसारमा तिमीले
अकल्पनीय भय भरिदिएका छौ,
यो संसारमा बच्चा जन्माउने भय ।
मैले जन्माई नसकेको
मैले नाम राखी नसकेको मेरो बच्चालाई
आतंकित बनाइसकेका छौ
आफ्नै नसामा बग्ने रगत बोक्न
तिमी नालायक छौ ।

अरूको पालो मिचेर बोल्न
मलाई कति थाहा छ र ?
तिमी भनौला म आलोकाँचो छु
भनौला म अबुझ छु
तिमीभन्दा कमै भोटो फटाएको भएपनि
म एउटा कुरा भने पक्कै बुझ्छु
परमेश्वरले पनि तिम्रा कर्तुतहरू
माफ गर्न सक्ने छैनन् ।

मेरो एउटा सवाल सुन
के तिम्रो पैसाले क्षमा किन्न सक्छौ?
के तिमीलाई लाग्छ, तिमी सक्छौ?
जब तिमीले मारेका मान्छेहरूको संग्रह बन्छ
युद्दबाट बटुलेको तिम्रो अकुत धनले
एउटा आत्मा पनि फर्काउन सक्ने छैनौ ।

र म कामना गर्छु तिम्रो मरण होस्
तिम्रो मृत्यु चाडैं आओस्
उराठलाग्दो मध्यान्हमा
म तिम्रो खटलाई पछ्याउनेछु
र तिमीलाई चितामा चढाएको हेर्नेछु
र तिम्रो अन्त्य भएकोमा पूरै ढुक्क नभएसम्म,
तिम्रो चिहानमा उभिइरहनेछु ।

डिलन कवि र गायक हुन् । डिलनलाई भर्खरै साहित्यका लागि सन् २०१६ को नोबल पुरस्कार दिइने घोषणा गरिएको छ । डिलनले सन् १९६३ मा भियतनाम युद्ध चर्केका बेला  ‘मास्टर्स अफ वार’ शिर्षकको गीत रचना गरे, गाए । कवि नयन पी सिन्धुलीयले सो गीतको नेपाली अनुवाद गरेका हुन् । 

* पहिलो पटक यो कविता पोष्ट गर्दा यसको शिर्षक युद्धका नायकप्रति भन्ने थियो । तर, पाठकको सुझाव अनुसार अहिलेको शिर्षक युद्धका नाइकेप्रति बढी उपयुक्त लागेर सच्याइएको जानकारी गराउँछौं । 

‘जो सामान्यत: साहित्य पढ्दैनन्, तिनले दशैँमा पनि पढ्दैनन्’ – खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला दशैंको फुर्सदमा पुस्तकबारे रेडइङ्क बुक्सका विनोद अर्यालले गरेको कुराकानी: 

दशैँमा साहित्य खूब पढिन्छ भन्ने हल्ला छ नी ?
मलाई त शङ्का छ ।
किन ?
दशैँमा केही दैनिक र केही साप्ताहिक साहित्यलाई अलि बढी ठाउँ दिन्छन् । कतिपय पत्रमा कतिपय ज्ञानीका दशैँमा के के पढ्ने भन्ने टिप्स छापिन्छन् । शायद यही आधारमा दशैँमा साहित्य खूब पढिन्छ भन्ने लख काटिएको होला । तर यो लख कटाइमा म उत्रो दम देख्दिनँ ।
कारण ?
साहित्यका साधक र नियमित पाठकहरु बाह्रैमास साहित्य पढ्छन् । साहित्य पढ्न तिनलाई दशैँ आउनु पर्दैन । त्यसैले यो ‘खूब पढ्ने’भित्र तिनलाई पार्नुको कुनै तुक छैन । जो सामान्यत: साहित्य पढ्दैनन्, तिनले दशैँमा पनि पढ्दैनन् । एक्का–दोक्का अपवादलाई छाडेर मन्त्रीहरु साहित्य पढ्दैनन्, सांसदहरु साहित्य पढ्दैनन्, दलका नेताहरु साहित्य पढ्दैनन्, दलका कार्यकर्ताहरु साहित्य पढ्दैनन्, नोकरशाहहरु साहित्य पढ्दैनन्, डाक्टरहरु साहित्य पढ्दैनन्, बनियाँहरु साहित्य पढ्दैनन्, तस्करहरु साहित्य पढ्दैनन्, जग्गा दलालहरु साहित्य पढ्दैनन्, वकिलहरु साहित्य पढ्दैनन्, थरीथरीका माफियाहरु साहित्य पढ्दैनन् । यिनमा कोहीकोहीले दशैमा पढूँला भनेर पुस्तक त किन्दा हुन्, तर पढिहाल्छन् जस्तो मलाई लाग्दैन । त्यसैले मलाई लाग्छ, दशैँमा साहित्य खूब पढिन्छ भन्ने चर्चा कल्पित हो, वास्तविक होइन ।
नपढेर यिनले दशैँको फुर्सद कसरी बिताउँदा हुन् त ?
यिनले साहित्य होइन अर्थोकै पढेर बिताउँछन् । यिनले बाउन्न पत्ती गीता पढ्छन्, शिकारका पाकपरिकारहरु पढ्छन्, तामसी दारुपानी पढ्छन्, कतिले त द्यूतक्रीडा नै पढ्छन् ।
तपाईँको भनाइमा तपाईँ त बाह्रमासे पाठक पर्नु भो । आफूचाहिँ दशैँमा खूब पढ्नुहुन्छ होला, होइन ?
यो प्रश्नको सही जबाफ दशैँमा म खूबै पढ्दिन भन्ने हुन्छ ।
मतलब ?
चाडपर्बमा मानिस र उसको परिवेश यसै पनि उत्सवी मूडमा हुन्छ । परिवार उत्सवी मुडमा हुन्छ, टोलछिमेक उत्सवी मुडमा, इष्टमित्र उत्सवी मूडमा । यो चौतर्फी उत्सवी मूडले पठनको लागि नभई नहुने चित्तको एकाग्रतामा बाधा पार्छ । त्यसैले दशैँमा म पढ्छु र म पढ्दिनँ ।
यो जबाफ त ईश्वरबल्लभको कविताजस्तो भयो— आगोका फूल हुन्, आगोका फूल होइनन् ।
हो नै त्यस्तै ।
कुरो झन् अमूर्त भो ।
कनाथक अमूर्त छ, तसर्थ अभिव्यक्ति अमूर्त हुने नै भयो । कुरो के हो भने म दशैँमा कत्ति न पढुँला भनेर दराजबाट पुस्तकहरु झिकेर टेबुलमा राख्छु । युबाबयमा पढेका पुस्तकहरु अहिले धेरैपछि पढ्दा पठनको अनुभूति र प्रभाव कस्तो होला भनेर जाँच्न क्लासिक्सहरु दोहोर्‍याउने धूनमा हुन्छु म । तर एउटै पुस्तक पनि पढिभ्याउँदिनँ । मेरो पढाइ तिहुन चखुवा टाइपको हुन्छ । शेक्सपियर दश पेज पढ्यो, पुस्तक थन्क्यायो । अनि बाल्ज्याक र डिकेन्स त्यस्तै । तोल्सतोय र चेखोब त्यस्तै । गोर्की र लु स्यून त्यस्तै । रुसो र भोल्तेयर त्यस्तै । हेमिङवे र डेनियल डिफो त्यस्तै । छरपस्ट पठन, अलपत्र प्रभाव, सब बेकार ।
एक महिनायता कतिवटा पुस्तक पढ्नुभो ?
भन्न नमिल्ने तीनवटा पढेँ, भन्न मिल्ने डेढओटा ।
यो डेढओटा के हो ?
यो डेढओटा एउटा पूरै पढेको पुस्तक, अर्को फास्ट ट्र्याक शैलीमा पढेको पुस्तकको योग हो ।
अनि यो भन्न मिल्ने र नमिल्नेचाहिँ के हो ?
भन्न नमिल्ने फोस्सा हो, भन्न मिल्ने खँदिलो ।
पढेका फोस्सा पुस्तकको नाम भन्न किन नमिल्ने ?
लेखकहरु रिसाउँछन् । वास्तवमा ती पढिए र पढिएनन् । एकाध पेज पढेपछि अनुच्छेद–अनुच्छेद फड्को मार्दै पठन तुरियो । मिहेनत खासै परेन, पुस्तक मिलिक्कै सकियो ।
सार्वजनिक नगर्ने शर्तमा भन्न मिल्दैन ?
मिल्दैन किनभने कुराको स्वभाव लुकाइन नमान्ने हुन्छ । एक कान, दुई कान हुँदै कुरो मैदानभरि फिँजिन्छ ।
जे फोस्सा हुन् आखिर ती किन फोस्सा हुन् ?
तिनमा न इतिहासको पदचापको आवाज छ, न समयको धड्कन छ, न चित्तलाई खिच्ने भाषा–शैली छ ।
पूरै पढिएको र भन्न मिल्ने भाग्यमानी पुस्तकचाहिँ कुन पर्‍यो ?
शारदा शर्माको ‘कम्प’ उपन्यास ।

sangraula-khagen
त्यसमा भन्न मिल्ने त्यस्तो गुण के छ ?
त्यसमा इतिहासको पदचापको आवाज छ, समयको धड्कन छ र चुम्बकीय शैली छ ।
विमोचनमा बोल्दा तपाईँले पुस्तक विवादास्पद छ भन्नु भा’थ्यो रे । पुस्तकमा त्यस्तो विवादास्पद के छ ?
पुस्तकमा घर्षणकालको काठमाडौँ र दिल्लीको उपस्थिति छ, मधेश र सिंहदरबारको कथा छ, नाकाबन्दी र राष्ट्रियता छ, नागरिकता र भाषाको सन्दर्भ छ । यी सब विषयमा शारदाका आफ्ना विश्वास वा आग्रहहरु कलाको आवरणभित्र लुकेर बोल्छन् । तर यो प्रकरण उपन्यासको समग्र कथ्यको सानो अशमात्र हो । त्यसैले त उपन्यास पढेँ भन्न मिल्ने गरी पढियो ।
अनि ठूला पुरस्कार पाएर धुम मच्चाउने पुस्तकचाहिँ पढ्नु भा’छैन ?
कुन ठूला पुरस्कारको के को धुम मचान ?
मदन पुरस्कार र पद्मश्री पुरस्कार क्या ।
रामलाल जोशीको मदन पुरस्कार प्राप्त ‘ऐना’ नामक कथासंग्रह पढेँ । अघि मैले अद्र्ध पठनको कुरा गर्‍या थिएँ नि त्यो यही ‘ऐना’को प्रसङ्ग हो । मैले यसको एक तिहाई सामान्य गतिमा धैर्यपूर्वक पढेँ, दुई तिहाई फास्ट ट्र्याक गतिमा फटाफट पढेँ।
पुस्तक कस्तो छ ?
यो प्रश्नको उत्तरमा ठूलो जोखिम छ । त्यत्रो पुरस्कार पाएको पुस्तकले स्वभावत: भारी प्रशंसाको अपेक्षा गर्छ । दुर्भाग्यवश, प्रशंसा नगर्न म विवश छु ।
किन ?
‘ऐना’ले मलाई रुद्रराज पाण्डेको ‘रुपमति’मा प्रतिबिम्बित आदर्श, विश्वास र मूल्यको स्मरण गरायो । एकदमै पुरातन, रुढ र सङ्कुचित । यसमा जागेको नेपालको ज्यूँदो अनुहार, तीक्ष्ण संवेदना, हस्तक्षेपकारी आवेग आदिको छनक कतै पाइँदैन । यसमा पाइन्छ त केवल मृत नेपालको मुर्दाचित्रमात्र । सामाजिक सद्भावको नाममा पुस्तकले सनातनी वर्चश्वशाली समुदायलाई वर्चश्व नै प्रदान गर्छ र उक्त वर्चश्वबाट पीडित समुदायलाई पुरानै वञ्चनाको पीडाको पुरस्कार दिन्छ । तैपनि पुस्तकले पुरस्कार पड्कायो !
यस्तो पुस्तकले कसरी मदन पुरस्कार पयो त ?
लोकका रुचिहरु फरक छन् । मदन पुरस्कारको परम्परामा यो अपवादजन्य घटना होइन । प्राप्तकर्ताको आदर्श, विश्वास र मूल्यसँग दाताको आदर्श, विश्वास र मूल्यले मेल खायो, र दुईथरीको मधुर मिलन भयो, बस् ।
अनि पद्मश्री पुरस्कार पाउने निलम कार्की निहारिकाको चीरहरण नि ?
भर्खर पढ्दै छु । यसबारे बोलिहाल्न छिटो हुन्छ ।
बिहानीले दिनको लक्षणको सङ्केत गर्छ भन्छन् । सङ्केत कस्तो छ ?
भन्नलाई भन्छन्, तर बिहानीले गरेको सङ्केतलाई दिनले धोखा दिन पनि त सक्छ ।
तैपनि प्रारम्भिक र अनुमानित प्रतिक्रिया दिन मिल्दैन ?
पढेजतिमा त म राम्रै सङ्केत देख्दैछु, यार ।
तपाईँको हेराइमा नेपाली साहित्यमा पठनको अवस्था कस्तो छ ?
पठनको वृत्त फराकिलो भएको छ ।
यसो भनिनुको आधार के हो ?
सरकारी र गैरसरकारी मुद्रणदेखि साइबरको संसारसम्म नेपाली साहित्य व्याप्त छ । नयाँ प्रकाशनहरु खुलिरहेका छन् र चलिरहेका छन् । त्यसैले भन्न सकिन्छ— प्रकाशनको परिमाण बृद्धि भएको छ, र पाठकको संख्या बढेको छ ।
अनि गुण ?
परिमाण र संख्या बृद्धिको सापेक्षतामा गुणमा बृद्धि भएको म देख्दिनँ ।
यसको बुझिने र भन्न सकिने कारण केही छ ?
छ । लेखन र प्रकाशन दुबै फाँटमा साहित्यको बजारु वा छिपछिपे प्रकृतिमा जोड छ । लेखन र प्रकाशन दुबै फाँटमा छिटो नाम र छिटो दामको हुटहुटी छ । सस्तो बेसाहाले पखाला चलाउँछ भन्ने उखान छ । यो उखान हाल नेपाली साहित्यको चरितार्थ हुन्छ । भद्दा र कोरा लेखनीले पाठकको अपरिष्कृत अभिरुचिलाई आकर्षित गर्छ र त्यसैलाई तुष्टि दिन्छ । नतिजा के हुन्छ ? पाठकको अभिरुचि र सांस्कृतिक स्तर झनै अपरिष्कृत र झल्ला हुन्छ ।
लेखक र पाठकको जीवनबोध र सौन्दर्य चेतको तहलाई उकास्न के गरिनु पर्ला त ?
राम्रो साहित्य लेखिनुपर्छ । वैचारिक र रचनात्मक दृष्टिले लेखक समृद्ध नभई राम्रो साहित्य लेखिँदैन । राम्रो साहित्य नलेखिई पाठकको स्तरबृद्धि हुँदैन । यसको लागि बौद्धिक र सांस्कृतिक खुराकी जरुरी हुन्छ । मेरो विचारमा विश्व साहित्यका उत्कृष्ट रचनाहरु, खास गरेर उपन्यासहरु नेपालीमा ढङ्ग पुर्‍याएर उल्था गरिनु जरुरी छ । केवल गफ, धाकधक्कु र आत्ममुग्धताले नेपाली साहित्यलाई उठाउँदैन, गिराउँछ ।
तपाईँलाई ठग्ने प्रकाशकहरु कुनकुन हुन्, भन्न मिल्छ ?
तपाईँले दशैँअङ्के ‘हिमाल’मा प्रकाशित मेरो रचनालाई सम्झेर यो प्रश्न सोध्नुभएको होला । यो प्रश्नको उत्तर प्रबुद्ध पाठकहरुले सहजै अनुमान गर्नसक्दा हुन् भन्ने मलाई लाग्छ । मेरा पुस्तकहरु पाँच–छओटा प्रकाशनबाट छापिएका छन् । यी प्रकाशनहरुको चारित्रिक लक्षणको सहजै लख काट्छ सकिन्छ । ठग निम्न, मध्यम र उच्चस्तरका छन् । कुनै सिकारु छन्, कुनै सिद्धहस्त छन् । कुनैको ठग्ने शैली कोरा छ, कुनैको मिहिन छ । मैले भन्न सक्ने कुरा यत्ति हो ।
ठगको पोल खुले ठगीमा कमी आउँदो हो । पोल खोल्न मिल्दैन ?
नतिजा उल्टो हुन पनि त सक्छ । ठगमा यसै मेरो नाक काटियो, उसै काटियो, अब झन् जमेर ठग्छु भन्ने लिच्चड भावना पैदा हुन पनि त सक्छ । तसर्थ अहिले पोल नखोलूँ । बाँचीबर्ती रहे पछि विचार गरौँला ।

एउटा पत्र लोचन भट्टराईको नाउँमा: पारिजात

पारिजात 

लोचन भट्टराईज्यू,
यस पत्रलाई सद्भावना र सहृदयताको परिचायक भनिदिनुहोला ।

जनताको मञ्चमा परिचित तपाईको सुरिलो आवाज र सशरीर तपाईलाई जनताको कलाकार भनी सम्मान गर्नेहरु धेरै छन्। जनप्रतिबद्धहरु आफूसँग जे प्रतिभा छ, त्यही जनतालाई दिने गर्छन् । आठौँ कक्षामा एउटा पढेकी थिएँ, बेलाबखत सम्झने गर्छु । कथाको नाउँ हो आवर लेडिज जग्लर, कथाकारको नाउँ विर्सें, अस्कर वाइल्ड हुन् कि ? जे होस्, कथाको सारसंक्षेप अति छोटो र मार्मिक छ । क्रिश्चियनहरुमा रोमन क्याथोलिकहरुले जीससलाई भन्दा उनकी कुमारी माता (भर्जिन मदर) लाई बढी पुज्दछन् र गिर्जाघरहरुमा उनको प्रतिमा हुन्छ र । मेरी, मारिया, मरियमलाई उनीहरु आवर लेडी भनेर सम्बोधन गर्ने गर्छन् । एक जना जग्लर अर्थात सर्कसबाज छ, दिनभरि आफ्नो पेशा भनौं करतब देखाएर थोरै कमाएर घर फर्कन्छ । बाटामा आवर लेडीको गिर्जा पर्छ । ऊ त्यहाँ पस्छ । रातको समय प्रार्थना गर्न आउँदैन । अब मातालाई केही नचढाई कसरी फर्कने । आखिर उसले निर्णय गर्छ । उसलाई आउने सर्कसको करब हो, ऊ भक्तिपूर्वक त्यही देखाउने छ । त्यसपछि सरजाम झिकेर विभिन्न करतब देखाउन थाल्छ । असिन पसिन भएपछि पसिना पुछ्न जब ऊ तयार भएको हुन्छ, आवर लेडी आफैं आफ्नो स्थानबाट उठेर आई जग्लरको पसिना आफ्नो भव्य पछ्यौरीले पुछिदिन्छिन् । यसरी फैन्टेसीमा गएर यो कथा टुंगिन्छ ।

parijat1

लोचनजी, अब प्रसंगमा आऊँ । केही समयअघि एक साँझ छिमेकी आएर भने– ‘आज टि.भी.मा नारायणगोपाल नाइट छ, प्रोग्राम शुरु भइसक्यो, हेर्न जाऊँ ।’ मलाई टि.भी. हेर्न असाध्य अल्छी लाग्छ, त्यसैले मानिनँ । उसमाथि मेरो वर्किंग आवर परेको । उनले जानेबेलामा फेरि भने, ‘नारायण गोपाललाई आलाप दिनको निम्ति लोचन भट्टराई पनि पछिल्तिर बसेकी छन् ।’ उनले मलाई लोभ्याउन खोजेका थिए तर म अर्कै दुनियामा पुगिसकेकी थिएँ । एकाएक मेरो हातबाट कलम खत्रक्क खस्यो । मलाई जीवनमा दुई पल्ट बिजुलीको करेन्ट लागेको छ । एक पल्ट रेडियोबाट र एकपल्ट पानीको धाराबाट । यो समाचार सुन्नासाथ मैले मेरो मुटुमा करेन्ट लागेको अनुभव गरें । त्यसपछि चलचित्र जस्तै मेरो आँखामा झलझल्ली तपाईंको आकर्षक स्वर, व्यक्तित्व, ओजस्वी सुन्दर गीत, कहिले हार्मोनियम बजाई रहेको, कहिले गितार बजाइरहेकी तपाईं आउन थाले र एउटा गीत चाँदीको घन्टी बजेजस्तो मेरो कानमा गुन्ज्यो– ‘नमार गरिबलाई, नजाऊ अंग्रेजी पल्टनमा…।’ नारायण गोपालको स्वरप्रति मेरो कुनै पूर्वाग्रह छैन । सबैले रुचाएको उनको स्वर म पनि त्यही अनुपातमा रुचाउँछु । तपाई विजेता गायिका, हुन सक्छ, उनलाई तपाईको स्वर भर्खरको कोपिला जस्तो लाग्यो । तपाईको ताजा स्वरलाई आफ्नो आलापमा राख्नाले हुनसक्छ, उनको कार्यक्रमको शान बढ्थ्यो, त्यसैले उनले आग्रह गरे अथवा केही भयो, मलाई त्यो सम्झौताको बारेमा थाहा छैन । मानिलिऊँ, उनको शान बढ्थ्यो रे, तर तपाईंले के पाउनु भयो ? उनको गरिमा बढ्थ्यो रे, खाई तपाईको गरिमा ? तपाईको स्वरको अस्मिता ? तपाईलाई हामी जनताको मञ्चमा देख्न अभ्यस्त छौं । भलै तपाई उताको निम्ति सुन्दर कोपिला होला, तर जनताको मञ्चमा त तपाई मगमग सुवास छरिरहेको विकसित फूल हुनुहुन्छ । तपाईको आफ्नो नाइट मनाउनुस्, त्यो पनि चल्छ, क्यासेट बनाएर बेच्नुहोस्, हातहात बिक्छ । लोचनजी, आफ्नो लगनशीलताले आर्जन गरेको राम्रो वस्तु म जनतालाई दिन्छु । हामीसँग जे छ, त्यही जनतालाई दिऔं, आवर लेडीको सर्कसबाजले जस्तै । हाम्रो पसिना पुछिदिने मायालु हातहरु यहाँ नहोलान् त ?

गर्जन, वर्ष ६, अंक १५
२०४४, साउन ४ गते मंगलबार ।

बौद्धिक तन्नेरीका सपना

जगदिश अधिकारी/विनोद अर्याल

शक्तिको प्रयोग गर्ने सत्ता उन्मत्त भयो भने त्यसले धेरै बिझ्याईं गर्छ । कल्याणकारी राज्यव्यवस्थाको अवधारणामा सत्ताको प्रयोग सामान्य नागरिकका हितमा हुन्छ भनिन्छ । व्यवहारमा त्यो आंशिक सत्य प्रतित हुन्छ । सानोतिनो नै किन नहोस्, सत्तालाई अप्ठ्यारा प्रश्न सोध्ने मानिसहरुको जमात नहुनु भनेको समाजको प्रगति धिमा हुनु हो र बहुसङ्ख्यक सत्ताविमुखहरुका दुःख वृद्धि हुनु हो ।

प्रश्न कवितामार्फत सोध्न सकिन्छ । एउटै रिपोर्ताजले पनि सत्ताको गतिलो खबरदारी गर्न सक्छ । अधिकारविहिन मानिसहरुलाई संगठित गरेर सामुहिक हितको प्रश्नलाई सडकमा तेस्र्याउन सकिन्छ । अध्ययन र अनुसन्धानले उधिनेका सत्यले शक्ति र सत्ताका प्रयोक्तालाई सचेत बन्न मद्दत पुर्याउँछ । शक्तिशालीहरुबाट आफू पिल्सिएको थाहा नै नपाई सबै सहेर बसेका सामान्य मानिसलाई समेत झकझोर पार्छ प्रश्नले । त्यसैले हरेक पुस्तामा सत्तासँग आँखा जुधाउन सक्नेहरुको जमात बन्न जरुरी छ । यस मामलामा अहिलेको तन्नेरी पुस्ता पूरै बाँझो छैन ।

युवाहरुको बौद्धिक हस्तक्षेप
विनोदविक्रम केसीले भर्खरै केही कविता लेखे । उनका कविताहरुमा रेडिमेड उत्तरहरु थिएनन् । वर्तमान समाज र अहिलेका मानिसले भोगेका अनेकन समस्या समाधान गर्ने सूत्रहरु पनि थिएनन् । थिए त केवल अप्ठ्यारा प्रश्नहरु । ती कविता ग्राह्य बने, धेरैले पढे र आँफैतिर फर्केर हेरे । ‘डेन्जर जोन’ शिर्षकको कवितामा केसी भन्छन्,

जीवनमा के–के गर्नुभो तपाईंले ?
अध्ययन गर्नुभो
प्रेम गर्नुभो
घुमफिर गर्नुभो
मोजमस्ती गर्नुभो
तर, आफ्नो हिस्साको राजनीति गर्नुभएन
यो असाध्यै खतरनाक कुरा हो

सोचमग्न बनाउने यस्ता प्रश्नहरु नै उनका पछिल्ला कवितामा शक्तिशाली अभिव्यक्ति बनेर आएका छन् । बिल्कुल साहित्यिक पाराको जमात मात्रै हैन, ठीकठाकै पत्रिका पढ्ने पंक्तिले पनि उनको कविताको चर्चा गरिरहेको छ । केसीका चार कविताले सत्ता ढाल्छ भन्ने कसैले दावी गर्दैन तर उनको यस्तै झकझकाइ चलिरहे अरु थुप्रैले प्रश्न गर्न थाल्नेछन् । सत्ताले आफूलाई लगाम लगाउनेछ ।

विनोदविक्रम केसी काठमाडौं नजिकको काँठमा बसेर कविता लेखिरहेका बेला धनगढीमा बस्ने इन्दु चौधरी थारु आन्दोलनमा सक्रिय थिइन् । आन्दोलनको धपेडीकै बीच उनले पनि केही लेख र कविताहरु लेखिन् । आफू र आफ्ना पुर्खाको श्रमले खडा गरेको दुनियाँमा आफ्नै पहिचान गुम्दै गरेको महसूस भएपछि इन्दु आन्दोलित बनिन् र लेखिन्,

म हिंड्ने बाटोको सधै काँडेतार बन्छौ,
स्वतन्त्र मेरो जीवनको हकदार बन्छौ ।
तिमी जस्तै मलाई पनि बाँच्न मन छ ।
मैले यसो भनिरहँदा,
तिम्रो मनमा खोटैखोट हुन्छ,
त्यसैले त टिकापुर विष्फोट हुन्छ ।

त्यसो त सबै बौद्धिकहरु आन्दोलन नै गरिरहन्छन् भन्ने होइन । न सबै कवितामार्फत नै समाज उधिन्न खोज्छन् । बसन्त बस्नेत पत्रकारिता गर्छन्, दैनन्दिन घटेका घटना र ती घटनाप्रति सत्ता र सामान्य मानिसका प्रतिक्रियाको अभिलेख राख्छन् । उनका समाचार र फिचरबाट नेपाली समाज गुज्रेको समय अभिव्यक्त हुन्छ भने विचारहरु मार्फत उनी सत्ता र सत्ताको उपयोग गर्न खोज्ने राजनीतिक दललाई प्रश्न गर्छन् । बस्नेतले पछिल्लो समय नेता कसरी जन्मन्छ भन्ने विषयमा चिन्तन गरे । छोटो एक आलेख मार्फत जरुरी बहसको प्रारम्भ गरे ।

विनोद, बसन्त, इन्दुकै उमेर समुहका श्याम साह सरकारी अधिकृत हुन् । तर, अधिकृत भन्दा कथाकार र गम्भिर अध्येताको परिचय नै श्यामको असली परिचय हो । नेपाली समाजको वर्गीय बनौट कस्तो छ भन्ने अध्ययनमा रुचि राख्ने उनले मधेसको आन्दोलन, जनजातिका मुद्दा, दलितका समस्या, र अन्य नेपाली नागरिकका दैनिक उहापोहको अर्थ राजनीतिक चिरफार गर्ने सोच बनाएका छन् । समाजशास्त्रीय अध्ययनबाट त्यस्तो चिरफार सम्भव छ भन्नेमा विश्वस्त उनले कथा सिर्जना मार्फत समाजका जटिल प्रश्नहरु अभिव्यक्त गर्न खोजेका छन् । ‘अब्बा’ नामको उनको कथासंग्रह त्यस्तै प्रश्नहरुको सिर्जनात्मक प्रस्तुति हो ।

समाजशास्त्र र मानवशास्त्र जस्ता विषयमा रुचि राखेर गहिरो अध्ययनमा लागेका दिप्ती शेरचन र नारायणी देवकोटा पनि यथास्थिति माथि प्रश्न गर्न र अनेकन समस्या पर्गेल्ने ध्याउन्नामा छन् । नारायणी पत्रिका र अनलाईन पोर्टलहरुमा निरन्तर लेखिरहेकी छन् । महिलाका मुद्दा, विश्वविद्यालयका समस्या, नयाँ किताबका समीक्षा मार्फत उनले वर्तमानका अघिल्तिर गम्भिर सवालहरु खडा गरेकी छन् । उनले उठाएका प्रश्नहरु बेवास्ता गरेर अघि बढ्न सक्दैन समाज । खासगरी जिम्मेवारहरुले उनले उठाएका मुद्दाहरुसँग ईन्गेज हुनैपर्छ ।

दिप्ती भने कर्णालीतिरको यात्रा गर्न र त्यतैका समाजबारे लेखिएका पुस्तक र अध्ययन सामग्रीको खोजीमा लागेकी छिन । माथि उल्लेख गरिएका नामहरु जस्तै पत्र पत्रिकामा बाक्लै नलेखे पनि उनको अध्ययन र अनुसन्धानप्रतिको लगाव लोभलाग्दो छ । मार्टिन चौतारी र डेमोक्रेसी रिसोर्स सेन्टर जस्ता संस्थामा काम गरिसकेकी उनको अध्ययनपछि लेखिने वा सिर्जित हुने बौद्धिक खुराक नेपाली समाजका लागि उपयोगी हुनेछ ।

Poster.jpg

भर्खरै लन्डन स्कूल अफ इकोनोमिक्सबाट केही समयको अध्ययनपछि नेपाल फर्केका श्रेय पौडेल अहिले फुटकर लेखहरु लेखिरहेका छन् । नेपाल जस्ता मुलुकमा मौलाएको उपभोक्तावादको एकांगी हैन बरु बहुआयामिक अध्ययन गर्नुपर्ने आवश्यकता खुट्याएका छन् श्रेयले । ‘द काठमाण्डु पोष्ट’मा नियमित लेखिरहेका उनी आगामी केही समय नेपाली समाजकै विषयमा अध्ययन अनुसन्धान गर्ने धुनमा छन् । पूरै युरेसेन्ट्रिक भएर हरेक समस्यालाई हेर्न थाल्दा हामीले आफ्ना मौलिक ज्ञानका पद्धति र श्रोतहरु गुमाउँदैछौं कि भन्ने चिन्ता पनि सँगै लिएर हिडेका छन् उनी । झापा विद्रोहदेखि पहिचानको लडाईंसम्म, जनवादी भनिने गीतदेखि नेपाली खानासम्म, यी अनेकन् विषयमा चिन्तन गर्नमा आफूलाई व्यस्त राखेका श्रेयले नेपाली समाजका विभिन्न पक्षमा अझ खँदिलो र सूचित बहसको खाँचो पनि ठम्याएका छन् ।

अध्ययन अनुसन्धानमै व्यस्त मुकेश झा नेपाली पत्र पत्रिकामा लेखहरु लेख्छन् । नेपाली समाज प्रगतिशील हुनुपर्छ भन्ने मत राख्ने उनी आफ्नो पुस्ताप्रति आशावान छन् । विश्वविद्यालयमा हुने तल्लो स्तरको राजनीतिले बरालेको भए पनि, उल्लेखनीय युवाको पंक्ति अध्ययन गर्न र उपयोगी बहस गर्न मनपराउने भएकाले उनीहरुबाट आशा गर्न सकिने उनको ठम्याई छ । भारत–पाकिस्तान सम्बन्धका जटिलता बुझ्न विभिन्न पुस्तकहरुको अध्ययन गरिरहेका झा समाजलाई अघि बढ्न नदिनेहरु बलिया भए पनि उनीहरु कामयाव हुन नसक्ने बताउँछन् ।

कम उमेरमा थोरै लेखेर ठूलो प्रभाव पार्न सफल बौद्धिकहरुमै पर्छन् स्वप्निल स्मृति । कविता मार्फत नै आफूलाई अभिव्यक्त गर्ने यी वामपन्थी कवि खुलेरै लिम्बु पहिचान अभिव्यक्त गर्छन् आफ्ना सिर्जनामा । नेपाली समाज असमान छ भन्ने चेतना नै उनको कविताको मुख्य चासो हो भने असमान हुने आधारमा वर्ग र जाति, लिङ्ग र क्षेत्रलाई पनि शक्तिशाली विम्वहरु मार्फत इङ्गित गर्ने स्वप्निल बागी आवाज हुन् । केही समय पहिले उनले लेखेः

जब जंगलमा आगो लाउँछ सरकार
र शहरमा ढाड सेकाउँछ
जब सरकार तिर्खाउँछ र खोला शहरतिर फर्काउँछ
म बोल्छु/कारउँछु/गाली गर्छु/उफ्रिन्छु
सरकार सुने पनि नसुने झैं गर्छ
तेरो भाषा बुझ्दै बुझिन भन्छ
त म के गरुँ ?
शायद सरकार बन्दुकको भाषामात्र बुझ्छ …

यस्ता बागी आवाज उठाउने युवाहरु देशका धेरै ठाउँमा छन् । कोही सञ्चार क्षेत्रमा देखापरेर त्यस्ता काम गर्छन् भने कोही स्थानीय स्तरमा अनेकन सिर्जनात्मक काम गरेर बौद्धिक हस्तक्षेप गर्नमा तल्लिन छन् । कैलाश राई, प्रनिका कोयु, सुरभि पुडासैनी जस्ता तन्नेरीहरु नारीवादी समूह ‘चौकठ’ सञ्चालन गर्दैछन् । नारीवाद एकोहोरो छैन र यो एक खाले मात्रै पनि छैन भन्ने बुझेका उनीहरु खासगरी नेपाली महिलाका विभिन्न सवालमा केन्द्रित भएर अध्ययन अनुसन्धान गर्दैछन् । उनीहरु सिंगो नेपाली समाज, यहाँ विद्यमान विभेदका अनेक पक्ष लगायत ती विभेदलाई बुझ्ने विभिन्न तरिकबारे पनि चिन्तनरत छन् । त्यसैगरी सुदूरपूर्व झापाका निरोज कट्टेल, राजु अधिकारी, र सागर शिवाकोटी झापा विद्रोहबारे गहिरो अध्ययन अनुसन्धान गरेर पुस्तक लेख्न जोडतोडले लागेका छन् । त्यसो त उनीहरु साप्ताहिक रुपमा पुस्तक र अन्य सामाजिक सरोकारका विषयमा गम्भिर छलफल कार्यक्रमको आयोजना पनि गर्छन् । चितवनका सुमनराज श्रेष्ठ र अनमोल कँडेल, सुदूर पश्चिमका दिनेश पन्त वा विदेश बसेर नेपाली समाज अध्ययन गरिरहेकी सुप्रिया मानन्धर पनि आफूले सक्ने बौद्धिक हस्तक्षेप गर्न खोजीरहेकै छन् ।

पुस्तकको प्रभाव
किताब पढ्नु जरुरी छ तर किताब मात्रैको बौद्धिक पोषण अपर्याप्त छ भन्नेमा रेडइंकले अन्तर्वार्ता गरेका सबै बौद्धिक युवाको एकमत छ । बसन्त बस्नेत भन्छन्, ‘पुस्तकलाई बिशुद्ध बौद्धिकता, सामाजिक कर्म र उत्तरदायित्व मात्र सोच्नु कि त आडम्बर हुन्छ कि त सतही बुझाई । बौद्धिकताको आयाम पुस्तक बाहिर पनि हुनसक्छ तर पुस्तक अध्ययनले मानिसलाई बौद्धिक बनाउन धेरै मद्दत गर्छ ।’ पछिल्लो समयमा शिक्षण पद्धती र शिक्षालाई नयाँ ढंगले व्याख्या गर्ने विद्वान जोन हल्टका रचनाहरुको अध्ययनमा लागेका बस्नेतले नेपालमा भइरहेका बहसलाई बढी गहिरो र सहिष्णु बनाउन सिर्जनात्मक उपायहरु सोच्नु पर्ने धारणा राखे । खासै गतिलो आधार नभएको ‘हामी नेपाली विशिष्ट’ भन्ने धारणा भत्काएर भविष्यमा हामी आँफैले ठोस काम गरेर बौद्धिक परिचय निर्माण गर्न सक्छौं भन्ने विश्वास जगाउन जरुरी रहेको बस्नेतको जीकिर छ । तर, सबै पश्चिमा मानकले नै हामीलाई निर्देशित गर्नुपर्ने धारणालाई भने उनी इन्कार गर्छन् ।

नयन पी सिन्धुलीयको विचार पनि लगभग उस्तै छ । प्राज्ञिक लेखन तर्फ क्रिस्टोफ जेफरलट जस्ता विद्वानहरुका पुस्तकहरु अध्ययन गर्न जरुरी भएको बताउने उनी दक्षिण एसियामा देखिएका फरक सम्भावना र पश्चिमका भन्दा फरक संकटहरु खुट्याउन अरुन्धती रोय जस्ता लेखकहरु पनि उतिकै सहयोगी हुने बताउँछन् । अमेरिकामा अन्तर्राष्ट्रिय सम्बन्धबारे औपचारिक अध्ययन गरेका नयनले पुस्तक पढ्ने संस्कारलाई विस्तार गर्न सक्यो भने अहिले सामाजिक सञ्जाल र साहित्य उत्सवतिर भइरहेका बहसहरु बढी वस्तुगत र फलदायी हुने बताए । ‘तर, सँगसँगै नेपाली समाजकै अध्ययन गर्न, आफ्नै जनसङ्ख्याको बनौट, क्षेत्रीय विविधता लगायत अन्य धेरै पक्षको प्राज्ञिक अध्ययन हुन बाँकी नै रहेकाले पढेलेखेका युवाहरुलाई त्यतातर्फ पनि आकर्षित गर्न सके, त्यसले हाम्रो भविष्य सुदृढ नै बनाउने थियो,’ नयनले भने । केवल भोटको राजनीतिमा तल्लिन नेताले गर्ने विकासको सतही गफको पछि लाग्नु भन्दा यस्ता प्रयत्नहरुमा श्रोत साधनको लगानी गरे त्यसले छिटै परिणाम ल्याउने उनको धारणा छ ।

स्वप्निल स्मृति भन्छन्, ‘राम्रो पुस्तक भनेको खास समय र स्थान को अभिब्यक्ती हो । इतिहास र वर्तमानबिच ज्ञानको श्रृङ्खला बुझ्नका लागि पुस्तक नै सबैभन्दा उत्तम बिकल्प हो ।’

नेपालको बौद्धिक परिचय
कमलप्रकाश मल्लले सन् १९७० मा लेखे, ‘स्वभाविकै हो कि हाम्रामा एन्टोनीयो ग्राम्सी र जँ पाल सात्र्रहरुको खोजी गर्नु वा हर्बर्ट मार्कुज र नोम चोम्स्कीहरुको आविष्कार गर्न खोज्नु वा गलब्रेइथ र मार्सल मक्लुहानहरुलाई संस्थागत गर्छु भन्नु अर्थहीन हुन्छ ।’ मल्लले नेपाली बौद्धिकहरुबारे यसो भनेको चार दशक पछि पनि नेपालमा पब्लिक इन्टिलेक्चुअल पर्याप्त नभएकोमा बेला बेला चिन्ता व्यक्त हुने गरेको छ । सत्ताको वरिपरि घुमिरहने बुद्धिजीवीबाट धेरै आशा गर्न नसकिने धारणा पनि बलशाली नै छ । त्यसो भए, मल्लले भने जस्तै अझै पनि नेपालमा चोम्स्की वा मार्कुज स्तरका बौद्धिकहरुको खोजी गर्नु अर्थहीन नै छ त ?

हामीसँगै भएका बौद्धिकहरुलाई हामीले चिन्न नसकेका पो हौं कि जस्तो लाग्छ श्रेय पौडेललाई । उनका अनुसार हामीले युरोप वा पश्चिमलाई मात्रै मानक बनाएर सोच्यौं भने हामी बढी खिन्न हुन्छौं र हीन भावनाको जन्म हुन्छ । यद्यपी हामीसँग जति छ र जे छ, त्यो पर्याप्त छैन भन्ने उनले महसुस गरेका छन् । मुकेश झाले नामै लिएर भने, ‘हाम्रा चोम्स्कीहरु भनेका खगेन्द्र संग्रौला, मञ्जुश्री थापा र सीके लालहरु नै हुन् ।’ बसन्त बस्नेतको पनि लगभग उस्तै मत छ । उनी भन्छन्, ‘हाम्रा इमानसिंह चेम्जोंग र योगमायाहरुलाई हामीले राम्रोसँग दर्ज गर्न नसकेर अरुसँग दाँजिदैछौं होला ।’

नेपाली समाजमा जात, भाषा, क्षेत्र, र लिंग, र वर्गमा रहेका विभेदहरुले नै यहाँका नागरिकले आफूलाई बौद्धिक रुपमा विकास गर्ने कमै मौका पाउने गरेका छन् । अनेकन समस्या र सीमितताका बाबजुद बौद्धिक कर्म भने अटुट भइरहेको छ । आफ्नो भाषामा पढ्न नपाएका छम गुरुंग भन्छन्, ‘नेपाली भाषा सिक्न नै ठूलो मिहिनेत गर्नुपर्यो । अहिले नेपाली भाषामा लेख्न बोल्न सक्ने त भइयो तर अझै पनि आफूलाई यो भाषामा राम्रोसँग अभिव्यक्त गर्न सक्दिन ।’ मातृभाषामा जीवनका आधारभूत ज्ञान आर्जन गर्ने अवसर पाइन्थ्यो र आफ्नै भाषाको माध्यमबाट संसारलाई बुझ्न र अध्ययन गर्ने मौका मिल्थ्यो भने बौद्धिक रुपमा अघि बढ्न सजिलो हुन्थ्यो भन्ने अनुभूति हुन थालेको छ छम गुरुंग जस्ता सीमान्तकृत समुदायका युवाहरुलाई । अघिल्लो पुस्ताका गैर नेपालीभाषी जनजाति समुदायका सर्जकहरुको प्रेरणाबाट नै छम गुरुंग, स्वप्नील स्मृति र चन्द्रवीर तुम्बापोहरु सिर्जनामा तल्लिन भएका हुन् ।

अध्ययन र बहस परम्परा
विश्वविद्यालयहरु तोकिएका टेक्स्टबुक पढाउने र नियमित परिक्षा गरेर डिग्री बाँड्ने संस्थामा सीमित हुनु दुखदायी भएको युवा बौद्धिकहरु स्वीकार्छन् । अध्ययन, अनुसन्धान, नयाँ ज्ञानको उत्पादन र बौद्धिक संस्कारको निर्माण गर्नुपर्ने विश्वविद्यालयहरु राजनीतिक दलका कठपुतली बनेकामा उनीहरु चिन्ता जाहेर गर्छन् । यद्यपी नेपालका सबै विश्वविद्यालय पूरै निकम्मा भएका छन् र यी अब कहिल्यै ज्ञान उत्पादनका स्थल बन्न सक्दैनन् भन्ने निराशामा कोही पनि डुबेका छैनन्।

विश्वबिद्यालयमा हुने भनिएको संस्थागत भ्रष्टाचार र राजनीतिक दलको हस्तक्षेप एकातिर चिन्ताको विषय हो भने कर्मचारीतन्त्रबाट हुने परिशानीले समेत बिद्यार्थीहरुको मोहभंग गरिरहेको धारणा राख्छिन् दिप्ती शेरचन । आर्थिक भ्रष्टाचारको कुरा बढी गरिन्छ तर मूल्यमा आएको स्खलनको सवालमा बहस कम हुने गरेको उनको बुझाई छ । शिक्षक र बिद्यार्थीबिचको सम्बन्धमा हुने मूल्यको पतन सिकाइसँग पनि जोडिने भएकाले त्यतातर्फ बढी सचेत हुनुपर्नेमा उनको जोड छ ।

नेपाली समाज मात्रै हैन पूरै विश्व व्यवस्था र दुनियाँमा भएका आर्थिक, राजनीतिक, र साँस्कृतिक अभ्यासबारे गहन अध्ययन र छलफल हुनुपर्ने हो विश्वविद्यालयमा । विद्यार्थी राजनीति गरिरहेका गौतम राई विश्वविद्यालयलाई यस्तो बौद्धिक कर्मको भाइब्रेन्ट थलो बनाउनमा विद्यार्थी राजनीति सहयोगी बन्नुपर्ने धारणा राख्छन् । तर, विद्यमान विद्यार्थी आन्दोलन वा विद्यार्थी राजनीतिको ध्याउन्ना बिल्कुलै अवाञ्छित बाटोमा लागेको स्वीकार्छन् । त्यसो हुनुमा सत्ता, राजनीतिक दल, र राजनीतिक दलका नेतृत्व बढी दोषी भएको उनको बुझाई छ ।

यद्यपी अहिलेसम्म नेपाली समाजमा भएका बौद्धिक विकासमा भने यहाँका विश्वविद्यालयहरुकै बढी योगदान रहेको श्याम साह बताउँछन् । त्यसैले राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै लैजाने र अन्य समस्याको हल खोज्दै जाने हो भने नेपालका विश्वविद्यालय नै गम्भीर बहस गर्ने उचित थलो बन्न सक्नेमा साह विश्वस्त छन् ।

अधिकारी र अर्याल रेडइङ्क बुक्ससँग आबद्ध छन् ।

फोटो: चिरन मानन्धर /  रेडइङ्क बुक्स 

स्त्री–पुरुषको सम्बन्धका बारेमा: विश्वेश्वर प्रसाद कोइराला

वि.सं २०१७ साल साउन ७ गते विश्वेश्वरप्रसाद कोइरालाले महासभामा स्त्री–पुरुषको सम्बन्धबारे दिनुभएको मन्तव्य वहसका लागि यहाँ प्रकाशन गरिएको हो । यो मन्तव्य प्रदिप गिरिले सम्पादन गर्नुभएको ‘संसदमा विश्वेश्वर’ नामको पुस्तकबाट साभार गरिएको हो ।

माननीय अध्यक्षज्यू,

अहिले सभामा छलफल भइरहेको विषयमा केही विचार व्यक्त गर्न म पनि उभिएको छु । मेरो व्यक्तिगत विचारमा स्त्री पुरुषको सम्बन्धलाई नियन्त्रणमा राख्ने उपायको प्रश्न अहिले आएको छ । विवाह, पारपाचुके तथा विवाह सम्बन्धी सबै व्यवस्थाहरुको मुख्य लक्ष्य यस सम्बन्धलाई कसरी नियमित र नियन्त्रणमा राख्ने भन्ने नै हो । हामीले त्यस दृष्टिबाट विचार गर्नुपर्छ । यसलाई सामाजिक र जैविक दुवै दृष्टिबाट विचार गर्नुपर्छ । सामान्य जैविक नियमबाट स्त्री र पुरुषको सम्बन्धलाई रोक्न प्रयत्न गर्नका निमित्त सामाजिक व्यवस्थालाई कुन आधार दिने भन्ने विषयमा व्यावहारिक दृष्टिकोणबाट त धेरै छलफल भइसकेको छ । अहिले भर्खरै एकजना माननीय महासभासद्ले स्त्री पुरुषको सम्बन्धलाई एउटा मधुर सम्बन्ध भन्नुभयो । मलाई त्यो सम्बन्ध मधुर छ जस्तो लागेन । मलाई स्त्री पुरुषको सम्बन्ध जङ्गली जनावरको जस्तो नङ्ग्रा र दाँतले चिथोर्ने र टोक्ने सम्बन्ध छ जस्तो लाग्छ । स्त्री र पुरुषको सम्बन्धलाई कसैले जैविक कारणले गर्दा भ्रममा परेर, कसैले भर्खर विवाह गरेका कारण भावनामा आएर मधुर सम्बन्ध हो भन्नु मलाई वैज्ञानिक विचार जस्तो लागेन ।

मानवजातिको जीवनको इतिहास अध्ययन गर्यौं भने लोग्नेमानिस र स्वास्नीमानिसबीच एउटा ठूलो जैविक द्वन्द्व निहित भएको देख्छौं । मानिस जब सृष्टि भयो होला र त्यसपछि अहिलेसम्म मानिसको उन्नति हुँदै आएको छ । त्यो उन्नति एउटा साधारण वा सजिलैसँग प्रवाहित भएको विकास होइन । यसमा ठूला–ठूला सङ्घर्षहरु भए । आर्थिक सङ्घर्ष त छँदै थियो, अरुअरु सङ्घर्ष पनि भए । स्त्री र पुरुषबीचमा त्यो सङ्घर्ष किन भयो त ? त्यतापट्टि पनि विचार गर्नुपर्छ । मैले यो कुरा मेरो व्यक्तिगत भावना विरुद्ध बोल्नु परिरहेको छ । ऐतिहासिक दृष्टिबाट देखिने क्रुर सत्य बताउन मैले आफ्नो हृदयको भावना दबाउनुपरेको छ ।

हाम्रो नजरको सामुन्ने पर्ने द्वन्द्व छँदैछ । तर, परिवार वा युवक–युवतीबीचको द्वन्द्व हुनुको कारण के हो ? यसमा मलाई लाग्छ, यो समाजमा एउटा निर्धारित शक्ति छ । अरु कसैलाई सम्झाउनुपर्यो भने त्यसलाई जीवनशक्ति भन्दा हुन्छ । माननीय महासभासद्लाई सम्झाउन दैवीशक्ति भनौं । तर, एउटा शक्ति छ जसले सबै कुरा जान्दछ, जो अजर–अमर छ, कालदर्शी छ, न त्यसको सुरु छ, न अन्त छ । त्यसले मानिसलाई देवता बनाउन कोसिस गर्छ । त्यसलाई कसैले जान्न सक्तैन, त्यसले गरेको कुराबाट सृष्टि चल्दछ, त्यो त्यही शक्ति हो । अहिले हामी देवताको श्रेणीमा पुग्न सफल भएका छैनौं । तर, कुनै हदसम्म पुग्ने पनि गरेका छौं । हामी विज्ञानद्वारा प्राकृतिक बन्धनमाथि जतिजति विजय प्राप्त गर्दै जान्छौं, उतिउति देवतालाई एउटा कुनाबाट निकाल्दै अर्को कुनामा पन्छाउँदै जान्छौं । हामी यसरी देवत्व प्राप्त गर्दै जान्छौं । पहिले कुनै रोग लाग्यो भने मन्दिरमा गएर पूजा गर्दथ्यौं, अब रोगको कारण थाहा भइसकेको हुनाले थाइसिसका रोगमा सितलामाईको पूजा गर्न छाडेका छौं । अब कारण थाहा भइसकेको हुनाले हामी त्यस हदसम्म देवत्व प्राप्त गर्न थालेका छौं । अब महादेवको पुकार गर्न छाड्दै आएका छौं ।

त्यसो हुनाले मानिस अब प्रकृतिको नियमबाट फुत्कँदै गएको छ । अहिले रफ्तारमा विज्ञानको उन्नति हुँदैछ, त्यसमा बीचमा केही बाधा परेन भने हामीले चाँडै देवत्व प्राप्त गर्न सक्नेछौं । मानिस जीवविकासमा एउटा खुड्कीलो मात्र हो । त्यो त्रिकालदर्शी शक्तिले चाहेको कुरा तल्लो तहका जीवहरुबाट हुन नसक्ने हुँदा उसले मानिस बनायो । तर, मानिसलाई पनि अलिकति खाना पुगेन, हेरविचार पुगेन भने नाना किसिमको रोग लाग्छ । अठार वर्ष नपुगी बुद्धि पनि आउँदैन । त्यसमा जीवनशक्तिले बिस्तारै–बिस्तारै सुधार ल्याउन खोज्यो । जीवनशक्तिले दुईवटा काम गर्न दिएको छ । लोग्नेमानिसको हातमा सभ्यता बनाउने काम दिइएको छ र स्वास्नीमानिसको सभ्यता बनाउने वस्तु बनाउने काम सुम्पेको छ । मैले यो कुरा हीनताको भावनाले स्त्रीजातिलाई भनेको होइन । लोग्नेमानिसले स्वास्नीमानिसलाई बराबर क्षेत्र बाँडिरहेको छ । अतः कच्चा पदार्थ समाप्त नहोस् र प्रयोग गरिरहन पाओस् भनेर नै जैविक आवश्यकता दिएको छ– आमा बनोस् भनेर । यस दृष्टिकोणबाट हेर्ने हो भने आमा बन्नुबाहेका स्वास्नीमानिसको अरु आवश्यकता छैन । जैविक काम भएन भने काम गरिरहेको मेसिन हठात् बन्द भएजस्तै मानव विकास नै खतम भएर जान्छ । यस दृष्टिबाट हेर्यौं भने लोग्नेमानिसको अझ प्रगतितिर लम्कौं, विकास गरौं, कलाकार बनौं, वैज्ञानिक बनौं, दैवीशक्ति प्राप्त गरौं भन्ने एउटै मात्र ध्येय छ, एउटै मात्र जिम्मेवारी छ । स्वास्नीमानिसको काम घर हेर्नु, आफूले जन्माएको छोराछोरीको हेरविचार गर्नु हो । त्यसकारण यस किसिमले द्न्द्वको रुप प्रक हुन्छ । स्वास्नीमानिस लोग्नेमानिसतिर आकर्षित हुन्छन् । म यो कुरा पनि व्यक्तिगत जीवनविरुद्ध गर्दैछु । स्वास्नीमानिसहरु लोग्नेमानिसलाई फसाएर आफ्नो काम पूरा गर्न चाहन्छन् । लोग्नेको उन्नतिको चाहना गर्दछन् । दुलाहाले सपना देख्छ । म यो इन्द्रधनुको रङ्गलाई क्यानभासमा उतार्न चाहन्छु भन्छ । तर, त्यसैबेला आफ्नो छोरालाई उठाएर दुलहीले बाधा पुर्याउँछे । अतः स्त्री र पुरुषबीच ठूलो द्वन्द्व रहन्छ भनेको हुँ ।

BP Koirala.jpg

लोग्नेमानिस स्वास्नीमानिसको सौन्दर्य देखेर मोहित हुन्छ, कविहरु यस्तो भन्ने गर्दछन् । तर स्वास्नीमानिसले लोग्नेमानिसलाई त्यसरी फसाउने काम गर्दछे, जसरी कुनै जनावर अजिङ्गरको सुन्दरतामा आकर्षित भएर नजिक जान्छ, उभिन्छ । तर, त्यो जनावर अजिङ्गरको सुन्दरताको विभ्रम भएर निलिन्छ । स्त्री–पुरुषको कुरा पनि त्यस्तै हो । त्यसकारण यसलाई कुनै सामाजिक नियमबाट बाँधेर राख्नु, मधुर भनेर भन्नु साँचो दृष्टिकोण होइन । यी दुई विरोधी तत्त्वलाई सन्तुलनमा राख्ने भन्ने विचार छाडौं । यो त अमेरिका र रुसको सह–अस्तित्व जस्तै हो । जीवनको विकासको क्रममा सुरुमा हाड नभएका जीवहरु सृष्टि भए । तिनीहरुको विकास हुँदै आएको हो । अब त स्वास्नीमानिसमा फसेर गयो भनेर अर्कै किसिमको प्राणी सृष्टि गर्ने हो कि ? स्त्री बन्धनमा पर्ने भयो भनेर हामीलाई नै जीवशक्तिले छाडिदिने हो कि ?

सामाजिक दृष्टिबाट विचार गर्दा आर्य संस्कृतिमा विवाहको नानारुप पाउँछौं । कुन्ती आफ्नो दुलाहा छँदाछँदै अरु लोग्नेमानिससँग सम्बन्ध राखेर पनि प्रतिष्ठावती भएकी छन् । त्यस्तै द्रौपदीले पाँचवटा पति राखेर हाम्रो आर्य संस्कृतिमा पूज्य भएर बसेकी छन् । तारा, अहिल्या र यशोधरा पनि पञ्चकन्या गनिएकै हुन् । उनीहरुमध्ये कोही पनि एक पतिव्रता नारी होइनन् । यो पनि आर्य संस्कृति नै हो । त्यसै हुनाले हिजो ग्रहण गरेकोलाई मात्र आर्यसंस्कृति भन्नुहुँदैन । आर्य संस्कृतिको सबैभन्दा ठूलो महत्त्व के हो भने यसमा सामाजिक परिवर्तनको साथ नयाँ तत्त्व ग्रहण गर्ने क्षमता छ । हामीमा नयाँ तत्त्वलाई ग्रहण गर्ने शक्ति भएन भने त्यो जाति नै लोप भएर जाने सम्भावना रहन्छ ।

पहिले हामी खेती गर्ने काम सिकेर एक ठाउँमा बसिसकेका थिएनौं । त्यसबेला मानिस घुमन्ते रुपमा बस्थ्यो । त्यहाँ दुलाहा–दुलही भन्ने थिएन । कसको छोरा भनेर सोध्दा आमाको मात्र भन्ने हुन्थ्यो । यसरी आमाको नाममा समाज बन्दै गयो । सामाजिक नियमभन्दा जैविक शक्ति बलियो थियो । एउटै आमाको रगतबाट जन्मेका बीच मात्र विवाह हुने नियम प्रारम्भ भयो । मातृसत्तात्मक जातिमा अझै पनि त्यस्तै नियम छ । त्यसैले सामाजिक नियम आमामाथि नै आधारित छ । मानिस गाउँमा बस्न थालेपछि व्यक्तिगत सम्पत्ति भन्ने कुरा आयो । अनि मानिसको घुमन्ते झुण्ड पनि टुट्यो । पहिले कबिलाको सम्पत्ति हुन्थ्यो भने अब व्यक्तिगत सम्पत्ति भयो, यस्तो ठूलो परिवर्तन भयो । अब दुलाहाको आवश्यक पर्यो । सामाजिक सम्पत्तिको ठाउँमा व्यक्तिगत सम्पत्ति हुँदै र्गपछि यो कसको छोरो भन्ने प्रश्न उठ्दा त्यसमा दुलाहा पनि सामेल हुन आयो । त्यसपछि म बाँचुन्जेल मेरो सम्पत्ति मैले मात्र भोग गर्न पाउने र म मरेपछि मेरो व्यक्तिगत सम्पत्ति मेरो छोराले मात्र पाउने भन्ने भयो । अनि स्वास्नीलाई स्वतन्त्रता दिएपछि उसबाट जन्मेका सबै छोरालाई आफनो छोरा भन्न पर्ने हुनाले स्वास्नीलाई पतिब्रता बनाउनु आवश्यक पर्यो ।

मध्यकालीन युगमा परपुरुषको मुख हेर्न नहुने भनेर बुर्का, पर्दा, घुम्टो र सूर्यको मुखसमेत नहेरेकी कन्या पवित्र मानिने विचारको उदय भयो । सम्पत्ति र स्वास्नीमाथि लोग्नेको व्यक्तिगत अधिकार बढ्दै गएपछि स्वास्नीले पोइल जानुलाई ठूलो बेइज्जत मानिन थाल्यो । किनभने, यसबाट व्यक्तिगत स्म्पत्तिमा ठूलो कुठाराघात हुन्थ्यो । व्यक्तिगत सम्पत्तिको अधिकार रहुन्जेल यो रहिरहन्छ । यो मध्यकालीन विचार हो । संस्कृतमा यससम्बन्धी साहित्य बनेको छ, शृङ्गार रस ।
विवाहलाई पुरानै किसिमबाट राख्ने हो वा जैविक दृष्टिकोणबाट पारापाचुके गर्ने अधिकरा दिँदा समाज ज्यादा मधुर हुन्छ वा पारपाचुके गर्ने अधिकार नदिँदा समाज मधुर हुन्छ, त्यो निश्चयरुपमा भन्न सकिँदैन भन्ने निश्कर्षमा पुगिन्छ । अहिलेको अमेरिकाको चलन र उनीहरुका पुर्खाको पालाको सम्बन्ध कुनचाहिँ मधुर छ, निश्चितरुपले भन्न सकिँदैन । विवाहका सम्बन्धमा पारपाचुके गर्ने स्वतन्त्रता पूर्ण रुपमा दिँदा सानोतिनो गडबडी हुनासाथ छाड्न पाउने भयो भने कसैले परिवारमा बाँधिएर रहनु र सन्तान हेर्नुपर्छ भन्ने जस्ता विवाहको लक्ष्य पनि खतम भएर जानेछन् । अनि, विवाह एउटा क्षणिक मिलन अर्थात् प्रजातान्त्रिक मोर्चाजस्तै हुन जानेछ । त्यस किसिमको स्वतन्त्रता नदिएर अँठ्याएर राख्नु पनि ठीक होइन । यस विधेयकमा तीन–चार प्रकारको कोसिस गरिएको छ । यसबाट विवाह सम्बन्धी सबै समस्या समाधान हुन्छन् भन्ने होइन । स्त्री र पुरुषबीच द्वन्द्व त छँदैछ । हामीले अहिले चलनमा रहेको व्यवस्थाबाट केही पाठ सिकिसकेको हुनलो अर्को व्यवस्थाको खोजीको निम्ति एकजना महिला महासभासद्बाट विधेयक आउनु राम्रो कुरा हो । वर्तमान व्यवस्थामा केही सुधार आउँछ कि भनेर यो विधेयक ल्याइएको छ । यो विधेयक अहिलेको आवश्यकता अनुभव गरेर ल्याइएको छ । यसमा सबैजनाको समर्थन प्राप्त होला भन्ने आशा गर्दछु ।